play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

काली गण्डकी डाइभर्सनको प्रभावसम्बन्धी अन्तरक्रिया सम्पन्न

0

चितवन,भदौ, ३० ।
सरकारले गौरवको आयोजनाको रूपमा थाल्न लागेको काली गण्डकी डाइभर्सन परियोजनाले देवघाटसहित आसपासका क्षेत्रमा नकारात्मक प्रभाव पार्ने भनी यहाँका बुद्धिजीवीहरूले मत राखेका छन् । आज भरतपुरमा देवघाट क्षेत्र विकास समिति, नेपाल सन्त समाज र देवघाट गाउँपालिकाको संयुक्त आयोजनामा भएको काली गण्डकी डाइभर्सन र प्रभाव विषयक अन्तक्रिया कार्यक्रमका सहभागीहरूले सो मत राखेका हुन् । सरकारले स्याङ्जा र पाल्पाको सीमानामा पर्ने परेवाडाँडामा बाँध निर्माण गर्ने र त्यहाँबाट सुरुङको सहायताले तिनाउ नदीमा कालीगण्डकीको पानी पु¥याउने लक्ष्य राखेको छ । सुरुङको व्यास ९ मिटरको हुनेछ भने लम्बाइ २२ किलोमिटरको रहने छ । काली गण्डकीको प्राकृतिक वहावलाई फेर्दा त्यसले वातावरणमा पार्ने प्रभाव खतरनाक हुने धारणा विज्ञहरूले राखेका हुन् ।

कालीगण्डकी उपत्यका विकास आयोजनाका अभियन्ता शान्ता बहादुर श्रेष्ठले कालीगण्डकी डाइभर्सन परियोजना विकास नभई विनाश हुनसक्ने बताउनुभयो । नदी डाइभर्जन गरिँदा नदीको पुरानो वहाव क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई समेत हानि पुग्ने उहाँले बताउनुभयो । भुइँमा रसायनिक परिवर्तन, अनावृष्टि, लगायतका समस्या उत्पन्न हुन सक्नेमा उहाँले जोड दिनुभयो । कालीगण्डकीको सम्बन्ध चितवनसँग पनि रहेकाले यहाँका मानिस पनि सो विषयमा गम्भीर हुनुपर्ने धारणा उहाँले राख्नुभयो । त्यस्तै नेपाल संस्कृत विश्वविद्यालयका सह प्राध्यापक डा. गुरुप्रसाद सुवेदीले नदी डाइभर्सन गर्नु भनेको सनातनी मूल्य र मान्यतामाथिको प्रहार भएको बताउनुभयो । काली गण्डकीको वहाव परिवर्तन गरेमा देवघाटको महत्त्व हराउने र त्यसले धार्मिक पर्यटनमा समेत असर पार्ने उहाँले बताउनुभयो । नदी हाल बग्दै आएको स्थलका मानिसहरूले समेत डाइभर्सन नबनाउन आवाज उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो । काली गण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण महाराजले कालीगण्डकी ज्ञान र विज्ञानको उद्गम स्थल भएको बताउनुभयो । चुनावी नाराको लागि थाल्न लागिएको परियोजनाले विनाश बाहेक अरु केही पनि ननिम्तने उहाँले जनाउनुभयो । कालीगण्डकी डाइभर्सनमा हात हाले सरकारले नारायणी नदीमा पानी जहाज कसरी चलाउँछ भनी उहाँले प्रश्न गर्नुभएको थियो । कार्यक्रममा नेपाल सन्त समाजका अध्यक्ष तथा हरिहर सन्यास आश्रमका पीठाधीश १००८ स्वामी ज्ञानानन्द स्वामी, गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो ।

Share.

Leave A Reply