play_circle_outline On Air

शिर्ष गित

play_circle_outline On Air

शिर्ष गित

सप्तगण्डकी एफ.एम तथा टेलिभिजन प्रयोगशालाको मुख्यमन्त्रीद्वारा उद्धाटन

0

शिव गौतम,

भरतपुर, भदौ २६ ।
भरतपुर महानगरपालिका वडा नं १० स्थित सप्तगण्डकी बहुमुखी क्याम्पसले एफ.एम. तथा टेलिभिजन प्रयोगशालाको थालनी गरेको छ । आज प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले क्याम्पसमा रहेको प्रयोगशालाको उद्घाटन गर्नुभएको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा निहित शिक्षा विकास निर्देशनालय प्रदेश नं ३ को क्याम्पस सहजीकरण सहयोग अनुदान कार्यक्रम अन्तर्गत प्रयोगशालाको निर्माण गरिएको हो ।


प्रदेशबाट प्रयोगशाला निर्माणका लागि रु २० लाख अनुदानमा प्राप्त भएको थियो भने थप ५ लाख रुपैयाँ क्याम्पस आफैंले खर्चिएको हो । प्रयोगशालाको समुद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री पौडेलले सप्तगण्डकी क्याम्पस सम्पूर्ण सामुदायिक क्याम्पसका लागि उदाहरणीय भएको बताउनुभयो ।

विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त हुने क्यु.ए.ए. मान्यता सप्तगण्डकीले अन्य हजारौं क्याम्पसलाई पछि पारेर हासिल गरेको भन्दै उहाँले क्याम्पसलाई थप सफलताको शुभकामना दिनुभयो । निजी क्याम्पस र सरकारी क्याम्पसहरूको तुलनामा सामुदायिक क्याम्पस सञ्चालन गर्नुमा धेरै चुनौति हुनेगरेको धारणा उहाँले राख्नुभयो । विद्यार्थीबाट कम शुल्क लिएर सरकारको आशा नगरी गुणस्तरीय शिक्षा प्रदान गर्नु सजिलो काम नभएको उहाँले उल्लेख गर्नुभयो । विगतमा सामुदायिक क्याम्पसप्रति सरकारकको कुनै नीति नहुने गरेको भन्दै अब प्रदेशको क्याम्पस सहजीकरण सहयोग अनुदान कार्यक्रम क्याम्पसहरूका लागि फलदायी सावित हुनेमा उहाँले जोड दिनुभयो । पौडेलले आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो । प्रयोगशालामा रहेका रेकर्डिङ स्टुडियो र प्रोडक्सन रुमको समेत मुख्यमन्त्री पौडेलले निरीक्षण गर्नुभएको थियो ।

वि.सं. २०६५ सालबाट सप्तगण्डकीमा आमसञ्चार तथा पत्रकारिता विषयको पढाइ सुरु गरिएको थियो । कक्षा ११, १२ र स्नातक तहमा गरी क्याम्पसमा अहिले सो विषयका ३०० बढी विद्याथी अध्ययनरत छन् । क्याम्पसले आमसञ्चार तथा पत्रकारिता विषयको स्नातकोत्तर कार्यक्रम पनि सञ्चालन गर्न प्रक्रिया थालेको क्याम्पस प्रमुख मणिराज महतोले जानकारी दिनुभयो । २०४५ सालमा स्थापना भएको सप्तगण्डकी क्याम्पसमा हाल राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको कक्षा ११ र १२ तथा त्रिवि अन्तर्गतको स्नातक तहमा मानविकी, विज्ञान र व्यवस्थापन संकायका कक्षाहरू सञ्चालित छन् । त्यस्तै, स्नातकोत्तर तहमा व्यवस्थापन र मानविकी संकायका कक्षारू पनि सञ्चालनमा रहेका छन् ।

Share.

Leave A Reply