play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

नेकपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै, नेकपामा स्कुल विभाग प्रमुखमा ८ नेताको दाबी

0

साउन २९ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरुको कार्य विभाजनलगायत एकीकरणका बाँकी काम टुंगो लगाउन आज केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेताहरुसँग परामर्श गर्न समय चाहिएकाले हिजै बस्ने भनिएको बैठक आजका लागि सरेको हो । सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले कार्य विभाजनको प्रस्ताव पेश गर्ने बताइएको छ । पौडेलले यसबीचमा स्थायी कमिटी तथा केन्द्रीय कमिटी सदस्यहरुसँग तीन विकल्पसहित आफूले जिम्मेवारी लिन चाहेको विभाग, भूगोल वा जनसंगठनको रुचिबारे लिखित तथा मौखिक सुझाव संकलन गरेका छन् । सकेसम्म रुचिअनुसारकै जिम्मेवारी दिनेगरी प्रस्ताव तयार हुने महासचिव पौडेलले बताएका छन् । स्थायी कमिटी सदस्यहरुलाई विभाग प्रमुख तथा कतिपय ठूला जनसंगठनको इञ्चार्ज बनाउने तयारी भइरहेको छ । जुनियर केन्द्रीय सदस्यहरुलाई विभागको उपप्रमुख तथा जनसंगठनको सह इञ्चार्जको जिम्मेवारी दिइने नेकपा स्रोतले जनाएको छ । स्रोतका अनुसार किसान महासंघ, युवा संघ, अनेरास्ववियू, महिला संघ, मजदूर संगठन जस्ता ठूला जनसंगठनको इञ्चार्ज स्थायी कमिटी सदस्यबाट बनाउन अधिकांश नेताले महासचिव पौडेललाई सुझाव दिएका छन् ।

यस्तै,नेकपा स्रोतका अनुसार संगठन विभाग, स्कूल विभागलगायतमा स्थायी कमिटी सदस्यलाई उपप्रमुखसमेत बनाउने सम्भावना छ । विशेष गरी केन्द्रीय सचिवालय सदस्य प्रमुख रहेका विभागमा स्थायी कमिटी सदस्यलाई उपप्रमुख बनाउन सकिने नेकपा स्रोतले जनाएको छ । तर बेदुराम भुसाल, टोपबहादुर रायमाझीलगायतका धेरै स्थायी कमिटी सदस्यहरुले सचिवालय सदस्यलाई विभागको जिम्मेवारीमा सीमित नगर्न सुझाव दिएका छन् । यसैबीच नेकपामा स्कुल विभाग प्रमुखको दावी गर्ने नेताहरुको संख्या बढेको छ । यसअघि ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबीका कारण टुंगिन नसकेको सो विभागमा झलनाथ खनालले पनि दाबी गरेका थिए । उनले आफूलाई स्कुल विभाग प्रमुख बनाइए जिम्मेवारी लिन तयार रहेको बताएका छन् । यता स्थायी कमिटीमा पनि करिब आधा दर्जन नेताहरुले स्कुल विभाग प्रमुखमा दाबी गरेका छन् । महासचिव पौडेलले संकलन गरेको मौखिक तथा लिखित सुझावका क्रममा युवराज ज्ञवाली, घनश्याम भुसाल, बेदुराम भुसाल, देवेन्द्र पौडेल र राम कार्कीले स्कुल विभाग प्रमुखमा रुचि देखाएका हुन् ।

Share.

Leave A Reply