play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

भारतलाई हराउँदै न्यूजिल्यान्ड लगातार दोस्रोपटक फाइनलमा

0

असार २५ । न्यूजिल्यान्ड इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्यान्ड फाइनलमा पुगेको हो ।२४० रनको चुनौती पछ्याउनेक्रममा बुधबार भारतले ४९ ओभर ३ बलमा ‘अलआउट’ हुँदै २२१ रनमात्र बनाउन सक्यो ।सातौं विकेटका लागि रविन्द्र जडेजा र महेन्द्रसिंह धोनीबीच ११६ रनको साझेदारी भएपछि भारत जितनजिक पुगे पनि अन्ततः पराजित भएको हो ।जडेजाले ५९ बलमा ७७ तथा धोनीले ‘रनआउट’ हुनुअघि ७२ बलमा ५० रन बनाएका थिए ।
त्यसअघि, भारतले ९२ रन जोड्दा ६ विकेट गुमाएको थियो ।जारी विश्वकपमा पाँच शतक बनाएका रोहित शर्मा, कप्तान विराट कोहली र लोकेश राहुल समान १ रनमा आउट भए ।५ रन जोड्दा भारतले सुरुआती तीन ब्याट्सम्यानलाई गुमाएको थियो । ऋषभ पन्त र हार्दिक पाण्डेयाले समान ३२ रन बनाए ।न्यूजिल्यान्डका माट् हन्रीले ३ तथा ट्रेन्ट बोल्ट र मिचेल सान्तनरले समान २ विकेट लिए ।यसअघि, न्यूजिल्यान्डले निर्धारित् ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएपछि भारतले मध्यम चुनौती पछ्याएको थियो ।मंगलबार न्यूजिल्यान्डले ४६ ओभर १ बल खेल्दा ५ विकेटको क्षतिमा २११ रन बनाएपछि वर्षाले खेल हुन नसक्दा बुधबार बाँकी ओभरबाट न्यूजिल्यान्डले खेल्न थालेको थियो ।न्यूजिल्यान्डका रोस टेलरले ७४ तथा कप्तान केन विलियमसनले ६७ रन बनाएका थिए ।भारतका लागि भुवनेश्वर कुमारले ३ विकेट लिएका थिए ।जितसँगै न्यूजिल्यान्ड लगातार दोस्रोपटक फाइनलमा पुगेको छ । अघिल्लो संस्करणमा न्यूजिल्यान्ड फाइनलमा अष्ट्रेलियासित पराजित भएको थियो ।दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र आयोजक इंग्ल्यान्ड खेल्नेछन् ।

Share.

Leave A Reply