इबोलाबाट नेपाली शान्ति सेना खतरामुक्त

0

एजेन्सी, जेठ ३० गते । कंगोमा इबोला भाइरस फैलिँदै गएको भएपनि त्यहाँ रहेको संयुक्त राष्ट्र संघको शान्ति मिसनमा कार्यरत नेपाली सेनाको टोलीलाई कुनै खतरा नरहेको सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बाह्रखरीसँगको कुराकानीमा भने, ‘‘कंगोमा नेपाली शान्ति सेना रहेको भएपनि इबोला फैलिएको क्षेत्रमा कुनै खतरा छैन । त्यस्तो खतराको अवस्था आयो भने राष्ट्र संघले नै आवश्यक प्रक्रिया पूरा गर्छ ।’’

कंगो ठूलो देश भएको र टाइम जोन नै तीन वटा रहेको भन्दै प्रवक्ता पाण्डेले शान्ति सेना रहेको क्षेत्रमा कुनै खतरा नभएको स्पष्ट पारे । उनका अनुसार कंगोको शान्ति मिसनमा ८९६ जनाको एउटा टोली र करिब २०० जनाको छुट्टै टोली समेत गरेर १ हजारभन्दा बढी कार्यरत छन् ।
बीबीसीले जनाएअनुसार कंगोमा फैलिएको इबोलालाई स्वास्थ्य विज्ञहरुले ‘साँच्चै डरलाग्दो’ भनेर टिप्पणी गरेका छन् । झण्डै १४ सय मानिसको सो रोगबाट त्यहाँ मृत्यु भइसकेको छ । वेलकम ट्रस्टका निर्देशक डा जेरेमी फर्रारले अहिलेको प्रकोप गएको सन् २०१३—२०१६को भन्दा डरलाग्दो भएको र अहिले रोकिने अवस्था पनि नदेखिएको जनाएका छन् ।

कंगोको छिमेकी युगाण्डामा पनि दुई जनाको इबोलाबाट मृत्यु भएको जनाइएको छ । युगाण्डामा इबोलाको भाइरसबाट मंगलबार एक जना ५ वर्षिय बालकको मृत्यु भएको छ । बुधबार अर्की एक महिलाको पनि मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । युगाण्डा सरकारले अन्य ६ जनामा पनि यस खालको रोग देखिएको जनाएको छ ।

मानिसलाई जोगाउन राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहयोगको जरुरत रहेको डा फर्रारले जनाएका छन् । कंगोमा गएको अगस्टमा पछिल्लो चरणमा इबोलाको संक्रमण देखिएकोमा अहिलेसम्म १४०० जनाको मृत्यु भएको हो । २०१३—२०१६मा फैलिएको यो रोगबाट ११ हजार ३१० जनाको मृत्यु भएको थियो ।

Share.

Leave A Reply