वार्नरलाई शतक, अष्ट्रेलिया विजयी

0

जेठ ३० । डेविड वार्नरको शानदार शतकका मद्दतले अष्ट्रेलियाले विश्वकप क्रिकेटको पछिल्लो खेलमा पाकिस्तानलाई ४१ रनले हराएको छ । अष्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तान ४५.५ ओभरमा २६६ रनमै समेटिन पुग्यो । उसका लागि इमाम उल हकले सर्वाधिक ५३ रनको योगदान दिए । मोहम्मद हफिज ४६ रनमा आउट हुँदा तल्को क्रममा ब्याटिङ गर्न आएका वहाव रियाजले ४५ रन बनाए । कप्तान सर्फराज एहमदले ४० रनको पारी खेले पनि टिमलाई जित दिलाउन भने सकेनन् । अष्ट्रेलियाका प्याट्रिक कमिन्सले १० ओभरको स्पेलमा ३३ रन खर्चेर ३ विकेट लिए । मिचेल स्टार्क र केन रिचर्डसनले पनि २ – २ विकेट हात पारे । अष्ट्रेलियाका पार्ट टाइम स्पीनर तथा कप्तान एरोन फिन्चको नाममा पनि १ विकेट रह्यो । यसअघि टाउटनमा टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेको कंगारु टोली ४९ ओभरमा ३०७ रनमा अल आउट भयो । खेलमा ओपनर डेविड वार्नरले आफ्नो करियरको १५औं शतक प्रहार गरे । १११ बलको सामना गरेका उनी १०७ रन बनाएर आउट भए । उनी म्यान अफ दि म्याच समेत घोषित भए । अर्का ओपनर एरोन फिन्चले ८२ रनको योगदान दिए । उनले ४ छक्का र ६ चौका प्रहार गरे । बलिङतर्फ भने पाकिस्तानका मोहम्मद अमिरले करियरकै उत्कृष्ट बलिङ प्रदर्शन गरे । १० ओभर बलिङ गरेका उनले दुई मेडेन राख्दै ३० रन खर्चिएर ५ विकेट लिए । सहिन अफ्रिदीले २ विकेट हात पार्दा हसन अली, वहाव रियाज र मोहम्मद हफिजले पनि १ – १ विकेट लिए । जितसँगै अष्ट्रेलियाले महत्त्वपूर्ण २ अंक प्राप्त गरेको छ । ४ खेलबाट ६ अंक बटुलेको उ तालिकाको दोश्रो स्थानमा उक्लिएको छ ।

Share.

Leave A Reply