क्रिकेट रङ्गशालाको बार भत्काउने मुख्य चार आरोपी कसरी भए रिहा ?

0

चितवन ,जेठ,२७ ।
पश्चिम चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनीहरुलाई हाजिरी जमानीमा छाडिएको हो । प्रहरीले रङ्गशालाको बारमा डोजर लगाएका मुख्य आरोपी प्रकाश कँडेलसहित भैरव बास्तोकोटी, ध्रुव चापागाईं, सुरेन्द्र विकलाई गए राति रिहा गरेको हो । मुलुकी अपराधसंहितामा उल्लेख भएको व्यवस्थाअनुरुप अनुसन्धान अधिकृतले हिरासतमा नराखी हाजिरी जमानीमा छाड्न सक्ने प्रावधानमा टेकेर उनीहरुलाई रिहा गरिएको मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुलाई नियमित हाजिर हुने र मुद्दा चल्दाको अवस्थामा कुनै गैरकानुनी काम नगर्ने गरी छोडिएको हो । प्रहरीको हिरासतमा रहेका चार जनाले गए राति भावावेशमा घटना हुन गएको भन्दै क्षमा याचनासमेत मागेका छन् । प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले घटनाले देश विदेशमा रहेका सहयोगीदाताको भावनामा चोट पुगेकोमा दुःख व्यक्त गर्दै अबका दिनमा रङ्गशाला निर्माणमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । उनीहरुलाई भरतपुर महानगर प्रमुख रेणु दाहाल, प्रदेशसभा सदस्य विजय सुवेदीको रोहवरमा छाडिएको हो । जेठ १५ गते भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन अवस्थामा रहेको क्रिकेट रङ्गशालामा बाटोको विवादका क्रममा उनीहरुले डोजर लगाएर बार भत्काएका थिए ।

Share.

Leave A Reply