चितवन दूधमा आत्मनिर्भर बन्न सफल

0

चितवन, १० जेठ
चितवन जिल्ला दूधमा आत्मनिर्भर भएको छ । दुग्ध उत्पादक सहकारी, स्थानीय सरकार, पशु विज्ञ केन्द्रलगायतका विभिन्न सङ्घसंस्थाको उपस्थितिमा दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर घोषणा गर्न लागिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले जानकारी दिए । विभिन्न समिति र उपसमितिहरु गठन गरी दूध र दुग्धजन्य पदार्थको वास्तविक तथ्याङ्क लिइएको उनले बताए। कृषि तथा पशुपक्षीको क्षेत्रमा आत्मनिर्भर जिल्लाको रूपमा रहेको चितवनले उत्पादन गरेको दूध बाहिरी जिल्लामा समेत निर्यात गर्दै आइरहेको न्यौपानेको भनाइ छ । चितवनमा उत्पादन हुने दूधको ४० प्रतिशतभन्दा बढी बाहिरी जिल्लामा पठाउने गरिएकाले दूधमा आत्मनिर्भर जिल्ला घोषणाको तयारी तीव्र पारिएको चितवन जिल्ला दूध उत्पादक सहकारी सङ्घका सचिव किशोर बगालेले बताए । जिल्लामा उत्पादन भएको आधा दूधले यहाँको जनसङ्ख्यालाई पुग्ने बगालेको जिकिर छ । चितवनमा अन्य जिल्लामा भन्दा बढी दूध उत्पादन हुँदासमेत आत्मनिर्भर जिल्ला घोषणा नगरिएकै कारण सरकारको आँखामा पर्न नसकेको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष एवं राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य भागिरथ तिमल्सिनाले बताए । चितवनलाई दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाएसँगै यहाँका किसानलाई समेत आत्मनिर्भर बनाउनुपर्नेमा व्यवसायीक दुग्ध उत्पादक कृषक समाज चितवनका सचिव ईन्द्रमणी गैरेले बताए । उनका अनुसार अहिले जिल्लामा दैनिक तीन लाख लिटर दूध उत्पादन हुन्छ भने १३७ दुग्ध उत्पादक सहकारी सङ्घसंस्था रहेका छन ।

Share.

Leave A Reply