बुद्ध जयन्ती मनाउन आह्वान गर्दै बौद्धधर्म सेवा समिति

0

बैशाख २, भरतपुर ।
भरतपुरको महाबौद्ध गुम्बामा रहेको बौद्धधर्म सेवा समिति – नेपालले २५६३औं बुद्धजयन्ती विविध कार्यक्रम गरी मनाउने भएको छ । उसले आजबाट तीन दिने कार्यक्रम सुरु गरेको हो । आज बिहान गुम्बा परिशरमा सरसफाई गरिएको समितिका अध्यक्ष क्याप्टेन इमानबहादुर गुरुङ्गले जानकारी दिनुभयो । भोलि जेठ ३ गते भने गुम्बा शृंगार गर्ने कार्यक्रम रहेको छ । त्यस्तै बुद्ध जयन्तीका दिन जेठ ४ गते बिहान ७ः३० बजे शान्ति पदयात्राको कार्यक्रम राखिएको उहाँले जानकारी दिनुभयो । पदयात्रा महाबौद्ध गुम्बा तीनखोलेबाट सुरु भई विशाल चोक, वीरेन्द्र क्याम्पस चोक, लायन्स चोक, शहिद चोक, मीलन चोक, रामेश्वर मन्दिर हुँदै पुनः महाबौद्ध गुम्बा पुगी समापन हुने बताइएको छ । गुरुङ्गले विगतका वर्षमा जस्तै यस वर्ष पनि करिब एक हजार जना पदयात्रामा सहभागी हुने अपेक्षा सुनाउनुभयो । भगवान् गौतम बुद्ध नेपालकै चिनारी हुनुभकाले पनि त्यस्तो पवित्र समारोहमा सबैलाई उपस्थित हुन उहाँले आग्रह गर्नुभयो । समितिका अनुसार सोही दिन रक्तदान र निःशूल्क स्वास्थ्य परीक्षण कार्यक्रम पनि सञ्चालन गरिने छ । अपरान्हको समयमा भने गुरु खेम्पो श्री वागेन्द्रशील तिमिल्सिनाबाट बौद्ध धर्म सम्बन्धी विषयमा धर्म देशना हुने जनाइएको छ । बुद्ध जयन्ती मनाउन समितिले बुद्ध जयन्ती मूल समारोह समिति २०७६ पनि गठन गरेको छ । यस अन्तर्गत विभिन्न २५ वटा उपसमिति रहेका छन् । समारोह सम्पन्न गर्नका लागि अनुमानित रु दुई लाख ७३ हजार खर्च हुने समितिका अध्यक्ष गुरुङ्गले बताउनुभयो । बौद्धधर्म सेवा समितिले गुठीमा आबद्ध ४०० घरधुरीबाट रकम संकलन गरिएको बताएको छ ।

Share.

Leave A Reply