play_circle_outline On Air

बि बि सी नेपाली सेवा

play_circle_outline On Air

बि बि सी नेपाली सेवा

जालमा परी चितवनको राप्तीमा ६ वटा गोही मरे

0

चितवन, ०५ बैशाख । चालू आर्थिक वर्षको हालसम्म माछा मार्न थापिएका जालमा परेर छ वटा गोही मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा रातिको समयमा थापिएका ठूलो तिहारी जालमा परेर ती गोही मरेका हुन्। निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सौराहाबाट मेघौलीसम्म राप्ती नदीमा ती गोही मरेका हुन् । पाँचवटा जालमै परेका गोहीलाई उद्धार गरिएको उनले बताए । कतिपय जालबाट फुस्किएर भाग्ने गरेका उनको भनाइ छ । खड्काका अनुसार खुट्टामा जाल बेरिएमा पौडी खेल्न नसकेर छिटो गोही मर्ने भए पनि शरीर र मुखमा जाल बेरिएका गोही खान नपाए पनि पाँचरछ महीनासम्म बाँच्न सक्ने उनले बताए । त्यस्तो अवस्थामा पुगेका गोही कङ्कालजस्तो बनेर मर्ने गरेको पाइन्छ ।
साँझको समयमा जाल थाप्ने र बिहान सङ्कलन गर्ने प्रचलन बढिरहेको भन्दै उनले त्यस्ता जालमा अड्किएर गोही मर्ने गरेको पाइएको बताए । निकुञ्जले हाते जाल प्रयोगका लागि स्थानीय बोटे जातिलाई अनुमतिपत्र दिने भए पनि अटेर गरी लुकिछिपी तिहारी जाल राख्ने गरेको पाइन्छ ।
तिहारी जाल भलिबलको नेटजस्तै ठूलो हुने गर्दछ । यो बलियोसँगै ठूलो पनि हुने भएकाले जालमा परेको गोही निस्कन सक्दैन । खड्काका अनुसार जालको धागोले शरीरमा काट्ने, चोट लाग्ने र मुख एवं शरीर बेरिन्छ । मुख बेरिदा खान सक्दैन भने शरीर बेरिदाँ पौडन नसकेर गोही मर्ने गर्दछ । गत आर्थिक वर्षमा जालमा परेर तीनवटा गोही मरेका थिए । दुई वर्षअघि नारायणी नदीमा घडियालको भाले जालमा परेर मरेपछि बर्दियाबाट भाले गोही ल्याइएको थियो । हाल पनि राप्ति र नारायणीमा न्यून सङ्ख्यामा मात्र भाले गोही रहेका छन् ।
हालसम्म नेपालका विभिन्न नदीमा एक हजार ४६५ गोही हुर्काएर छोडी सकिएको छ । राप्ती नदीमा मात्र ७८५ गोही कसरास्थित प्रजनन केन्द्रमा हुर्काएर छाडी सकिएको छ । चालू आवको हालसम्म राप्तीमा १०० गोही छाडी सकिएको छ ।

Share.

Leave A Reply