प्राध्यापकलाई मोसो दल्ने ६ विद्यार्थी कृषि तथा वनविज्ञान विश्वविद्यालयद्धारा निष्कासित

0

चितवन, वैशाख ३ ।
चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले प्राध्यापकमाथि मोसो र जुत्ताको माला लगाउने ६ विद्यार्थीलाई निष्कासन गरेको छ । विश्वविद्यालय कार्यकारी परिषद्को बैंठकले कृषि संकायका सहायक डिन प्राध्यापक विष्णु ओझा माथि मोसो र जुत्ताको माला लगाउने संकाय छैटौं सेमेस्टरका विद्यार्थीलाई ६० दिनका लागि निष्कासन गर्ने निर्णय गरेको हो । निष्कासनमा पर्ने विद्यार्थीमा सन्तोष खतिवडा, गोपाल थापा, वामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र सुशन पौडेल छन् । यी विद्यार्थीको समूहले गत चैत २१ गते विश्वविद्यालयका सहायक डिन ओझामाथि ४ दिनमै कोर्स सिध्याएको, प्रयोगात्मक कक्षामा डेढ सय विद्यार्थी राखेको, राजनीतिक आस्थाका आधारमा अंक दिने गरेको आरोप लगाउँदै मोसो र जुत्ताको माला लगाएका थिए । यसैबीच, प्रजातन्त्रवादी प्राध्यापक संघले भरतपुरमा मंगलबार पत्रकार सम्मेलन गरी विद्यार्थीमाथि कारबाही कम भएको र विद्यार्थीहरुले गल्ती महसुस नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएको छ । प्रजातन्त्रवादी प्राध्यापकहरुले चैत २२ देखि विश्वविद्यालयका प्रशासनिक तथा शैक्षिक कार्यक्रम बन्द गराउँदै आएका छन् ।

Share.

Leave A Reply