play_circle_outline On Air

सम्बाद

play_circle_outline On Air

सम्बाद

जेम्स वर्ल्डको उद्घाटन : चितवनले थप रेकर्ड तोड्ने प्रचण्डको भनाई

0

 

शिव गौतम

चैत २८, भरतपुर ।

पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनले आगामी दिनमा थप कीर्तिमान तोड्ने बताउनुभएको छ । भरतपुर महानगरपालिका वडा नं ४ लंकू, अद्वैत चोक स्थित जेम्स वर्ल्ड फन पार्कको उद्घाटन तथा शिलान्यास कार्यक्रममा बोल्दै उहाँले चितवनले विकासको क्षेत्रमा फड्को मार्न थालेको बताउनुभएको हो । चितवनमा देशकै ठूलो फन पार्क बन्नुले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उहाँको भनाइ रहेको थियो । फन पार्क देख्दा आफूलाई सिंगापुरको झल्को आएको भन्दै उहाँले अन्तर्राष्ट्रिय पर्यटकलाई लोभ्याउन यसको पनि भूमिका रहनेमा जोड दिनुभयो । त्यस्तै उहाँले आफूहरूको मुख्य एजेण्डा विकास र पूर्वाधार नै रहेको भन्दै रोजगारीको सृष्टि गर्नु अबको लक्ष्य भएको बताउनुभयो । एउटा व्यक्ति धनी भए पनि देश गरिब हुँदा व्यक्ति गरिब रहने तर्क उहाँले राख्नुभएको थियो ।

 

कार्यक्रममा ड्रप टावर तथा चितवन आईको शिलान्यास गर्नुभएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले फन पार्कले मनोरञ्जन मात्र नभई शारीरिक र मानसिक स्फूर्ति पनि प्रदान गर्ने बताउनुभयो । फन पार्क पनि समृद्धिको उदाहरण भएको बताउँदै उहाँले देशलाई समृद्ध बनाउन आफूहरूले सधैं असल प्रतिपक्षीको भूमिका निर्वाह गर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले विभिन्न मापदण्ड पालना गर्नु हरेक नागरिकको कर्तव्य रहेको बताउनुभयो । फन पार्कका सञ्चालक महेश तिवारीले निर्माण कार्यमा सहयोग पुर्याउने सबैप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय सभाकी सांसद पार्वती रावल, प्रदेश नं ३ सांसद गीता वाग्ले, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, भरतपुर महानगरपालिका उप-प्रमुख पार्वती शाह ठकुरी, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अवसर पारेर स्थानीय आमा समूहले शोभायात्रा समेत निकालेका थिए ।

 

२०७४ सालको मंसिरमा निर्माण कार्य सुरु भएको फन पार्क करिब २५ करोडको लगानीमा तयार पारिएको हो । ३ विघाको क्षेत्रमा फैलिएको फन पार्कमा डाइनोसर पार्क, ड्राइ गेम, वाटर गेम र चाइल्ड गेमका विभिन्न १०० थरी खेलहरू रहेका छन् । सबै खेल खेलेको भने ७५० रुपैयाँ लाग्ने बताइएको छ । फन पार्कको व्यवसायिक सुरुवात भने वैशाख १ गतेदेखि हुने बताइएको छ ।

Share.

Leave A Reply