नेकपाको एकीकरण कार्यदल भंग, बाँकी काम गर्ने जिम्मा सचिवालयलाई नै

0

नेकपा एकीकरणको निम्ति सुझाव प्रस्तुत गर्ने कार्यादेशसहित गठनगरिएको कार्यदल भंग गरिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सचिवालय बैठकले कार्यदल भंग गरेको हो । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बाँकी जिम्मेवारी सचिवालयलाई नै जिम्मा दिने निर्णय गरेको जानकारी दिए ।

यसअघि कार्यदलका सदस्यले एक हप्ता म्याद थप्न आग्रह गरेका थिए। तर, सचिवालयमा यस विषयमा विवाद भएको थियो । गत मंसिर २९ देखि पुस १३ सम्म बसेको स्थायी समिति बैठकले एकताको बाँकी कामलाई सहज बनाउन सिफारिस सहितको प्रतिवेदन तयार गर्न कार्यदल गठन गरेको थियो। १० दिनभित्र प्रतिवेदन बुझाउन भनिए पनि झन्डै डेढ महिनामा पनि सहमतिको प्रतिवेदन बुझाउन नसकेपछि अपुरो प्रतिवेदन सचिवालयमा बुझाइएको थियो।

हिजो बसेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले कार्यदल विघटन गरी सचिवालयबाटै एकताको प्रस्ताव तयार पार्नुपर्ने प्रस्ताव राखेका थिए भने वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ कार्यदललाई एक साता समय दिनुपर्ने पक्षमा उभिएका थिए।

जेठ ३ मा पार्टी एकता भए पनि नेकपामा तल्लो तहसम्मको पार्टी एकता, जनसंगठनको एकीकरण, नेताहरूको कार्यविभाजन, पोलिटब्युरो गठन गर्न सकेको छैन। एकता प्रस्ताव तयार पार्न सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा संयोजकत्वको महासचिव विष्णु पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, वर्षमान पुन, रघुवीर महासेठ, योगेश भट्टराई, वेदुराम भुसाल र लेखराज भट्ट सदस्य रहेको कार्यदल गठन गरिएको थियो ।

Share.

Leave A Reply