play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

उच्च शिक्षा मेलाको पहिलो दिन पुगे १५ सय अवलोकनकर्ता

0

शिव गौतम
फाल्गुन ३ भरतपुर ।एजुकेशन डट कमले भरतपुरमा सञ्चालन गरिरहेको पाँचौं उच्च शिक्षा मेलाको पहिलो दिन १५ सयभन्दा बढी विद्यार्थीहरूले अवलोकन गरेका छन् । मेलामा कक्षा १२ तथा स्नातक अन्तिम वर्ष अध्ययन गर्दै गरेका विद्यार्थीहरूको बढी उपस्थिति रहेको हो ।

यस मेलाबाट विद्यार्थीहरूले उच्च शिक्षा प्रदान गर्दै आएका नेपाली शैक्षिक संस्थाहरूका बारेमा परामर्श लिन सक्ने आयोजकले जानकारी दिएको छ । मेलामा वीरेन्द्र बहुमुखी क्याम्पस, बालकुमारी क्याम्पस, बोस्टन इन्टरनेशनल कलेज, प्रेसिडेन्सी कलेज, अक्सफोर्ड कलेज र लुम्बिनी आइसीटी कलेज सहित काठमाण्डौंका विभिन्न २३ क्याम्पसका स्टलहरू रहेका छन् । बिहान १० देखि साँझ ५ बजेसम्म चल्ने मेलामा प्रवेश भने निःशुल्क रहेको छ ।

मेला अवलोकन गर्ने प्रत्यकलाई प्रभूपेको तर्फबाट रु ५० बराबरको रिचार्ज कार्ड पनि प्रदान गरिएको थियो । त्यस्तै आज अवलोकन गरेका विद्यार्थीहरूमध्ये ५ जनालाई गोलाप्रथा मार्फत १-१ थान स्मार्ट फोन पनि उपहार दिइएको थियो । यस अघि काठमाडौंमा मात्रै मेला सञ्चालन गर्ने गरिएकोमा यसपटक भने मोफसलमा पनि त्यसको परीक्षण गरिएको एजुकेशन डट कमका प्रमुख कार्यकारी अधिकृत जीवन लामाले बताउनुभयो ।

विद्यार्थीहरूलाई स्वदेशमा पढेर स्वदेशमै काम गर्न सकिन्छ भन्ने सन्देश दिन मेला फलदायी हुने आशा उहाँले व्यक्त गर्नुभयो । नेपालमा भएका अवसरहरूलाई चिन्न आवश्यक रहेको बताउँदै उहाँले वैदेशिक अध्ययन वा रोजगारलाई वैकल्पिक स्थानमा राख्नुपर्ने धारणा राख्नुभयो ।

विद्यार्थीहरूले आफ्नो सीप पर्यटन, जलविद्युत र नयाँ प्रकारका उद्यममा लगाएमा रोजगारी पाइएन भनेर पछुताउनु नपर्ने बताउनुभयो ।माघ २८ र २९ गते विराटनगर तथा फाल्गुन १ र २ गते विरगञ्जमा रहेका विद्यार्थीहरूलाई एजुकेशन डट कमले मेलामार्फत परामर्श दिइसकेको छ । भरतपुर पछि फाल्गुन ६ र ७ गते बुटवल, १० र ११ गते नेपालगञ्ज तथा १३ र १४ गते धनगढीमा पनि शैक्षिक मेला चल्ने उसले बताएको छ ।

Share.

Leave A Reply