पाँचौं उच्च शिक्षा मेला चितवनमा पनि

0

शिव गौतम
फाल्गुन २, भरतपुर ।
नेपालमा नै उच्च शिक्षा लिन चाहने विद्यार्थीहरूलाई लक्षित गरी भरतपुरमा पनि उच्च शिक्षा मेला चल्नेभएको छ । एजुकेशन डट कमले आयोजना गर्ने गरेको नेपाल शैक्षिक मेलाको पाँचौं संस्करण भरतपुरको होटेल सेञ्चुरीमा हुन लागेको हो । फाल्गुन ३ र ४ गते गरी दुई दिनसम्म चल्ने मेलाबाट विद्यार्थीहरूले उच्च शिक्षा प्रदान गर्दै आएका नेपाली शैक्षिक संस्थाहरूका बारेमा परामर्श लिन सक्ने आयोजकले जानकारी दिएको छ । नेपालमा पनि अन्तर्राष्ट्रिय पाठ्यक्रम अनुरूप पढाइ हुने गुणस्तरीय क्याम्पसहरू छन् भन्ने सन्देश विद्यार्थी तथा अभिभावकहरूसम्म पु¥याउन मेला आयोजना गरिएको एजुकेशनका कार्यकारी अधिकृत तारा मान रावलले बताउनुभयो । नेपालमै व्यवस्थापन र आइटी विषयमा उच्च शिक्षा हासिल गरेका ९० प्रतिशत विद्यार्थीहरूले नेपालमा नै बसेर कमाउन थालेका भन्दै विदेशको पढाइ मात्र राम्रो हो भन्नु गलत भएको उहाँले दाबी गर्नुभयो । साथमा विभिन्न विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसबीच सुमधुर सम्बन्ध कायम गराउन पनि मेला फलदायी रहने विचार उहाँले व्यक्त गर्नुभयो । मेलामा वीरेन्द्र बहुमुखी क्याम्पस, बालकुमारी क्याम्पस, बोस्टन इन्टरनेशनल कलेज, प्रेसिडेन्सी कलेज, अक्सफोर्ड कलेज र लुम्बिनी आइसीटी कलेज सहित काठमाण्डौंका विभिन्न २३ क्याम्पसका स्टलहरू रहनेछन् । बिहान १० देखि साँझ ५ बजेसम्म चल्ने मेलामा प्रवेश भने निःशुल्क रहने बताइएको छ । त्यस्तै, मेला अवलोकन गर्ने प्रत्यकलाई प्रभूपेको तर्फबाट रु ५० बराबरको रिचार्ज कार्डको पनि व्यवस्था रहेको आयोजकले जनाएको छ । यसअघिका ४ संस्करण काठमाण्डौंमा सञ्चालन गरेको उसले मोफसलमा पहिलो पटक शैक्षिक मेलाको आयोजना गरेको हो । एजुकेशन डट कमले भरतपुरसँगै देशका अन्य प्रमुख सहरमा पनि मेला आयोजना गरिरहेको छ । माघ २८ र २९ गते विराटनगर तथा फाल्गुन १ र २ गते विरगञ्जमा रहेका विद्यार्थीहरूलाई उसले परामर्श दिइसकेको छ । भरतपुर पछि फाल्गुन ६ र ७ गते बुटवल, १० र ११ गते नेपालगञ्ज तथा १३ र १४ गते धनगढीमा पनि शैक्षिक मेला चल्ने उसले बताएको छ ।

Share.

Leave A Reply