play_circle_outline On Air

जान्नु भए भन्नु

play_circle_outline On Air

जान्नु भए भन्नु

सबैलाई नैतिकवान् बन्न पूर्व राष्ट्रपति यादवको आग्रह (फोटो सहित)

0

 

शिव गौतम

माघ २९, भरतपुर ।

पूर्व राष्ट्रपति रामवरण यादवले सरकारको तीन ओटै तह नैतिकवान् हुनुपर्ने बताउनुभएको छ । आज भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मा.वि.को ५५औं वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले सरकार नैतिकवान् नबने गणतन्त्र खतरामा पर्ने बताउनुभएको हो । संविधान लागू गर्न केन्द्र, प्रदेश र स्थानीय तह मात्र नभएर सदन पनि विधिमा हिँड्नुपर्ने उहाँको भनाइ थियो । बेलाबेलामा नेताहरूले लोकतान्त्रिक पद्धतिको खिल्ली उडाउने गरेकोप्रति आफूलाई दु:ख लाग्ने गरेको भन्दै उहाँले सबैसँग सरकारलाई घचघचाउन आग्रह गर्नुभयो । स्थानीय तह र पार्टीहरू जनतासँग मिलेर हिँडेमा मात्रै देश विकास हुने बताउनुभयो । विद्यालयका कार्यक्रममा मञ्चलाई राजनीतिक रूप दिन नहुनेमा पनि उहाँले जोड दिनुभयो । फरक प्रसंगमा उहाँले विद्यार्थीहरूलाई हाल दिइने गरेको शिक्षा अपूर्ण रहेको इसारा गर्नुभयो । नेपालको राम्रो जानकारी नभएको विद्यार्थीले देशकाे हितमा काम गर्न नसक्ने उहाँले बताउनुभयो । उहाँले विद्यार्थीहरूका लागि नैतिक शिक्षा अपरिहार्य भएको औंल्याउनुभयो । कार्यक्रममा पूर्व राष्ट्रपति यादवले नवनिर्मित प्राविधिक शिक्षा सदनको पनि उद्घाटन गर्नुभएको थियो । ५६ लाख लागत रहेको उक्त ६ कोठे भवन दुई वर्षमा तयार भएको विद्यालयका प्रधानाध्यापक रेशम बाबु ढकालले जानकारी दिनुभयो । विद्यालयले आगामी सत्रबाट सोही भवनमा सिटिइभिटी अन्तर्गत सर्वे इन्जिनियरिङको तीन वर्षे डिप्लोमा कक्षा सञ्चालन गर्न लागेको हो । कार्यक्रममा सामर्थ्य नेपाल चितवन शाखाले सोही विद्यालयमा अध्ययनरत विद्यार्थीहरू : भूवन कँडेल र सारिका आले मगरलाई साइकलको चाँबी हस्तान्तरण गरेको थियो । ती विद्यार्थी टाढाबाट विद्यालय आउने गरेको भन्दै साइकल प्रदान गरिएको सामर्थ्य नेपालले जनाएको छ । कार्यक्रममा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनुका साथै अक्षयकोषदाता, पूर्व प्रधानाध्यापक, पूर्व विद्यालय अध्यक्ष र पूर्व शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, प्रदेश नं ३ सांसद कृष्ण भुर्तेल, प्रदेश नं ३ की अर्की सांसद गीता वाग्ले, पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, लगायत विभिन्न राजनीतिक दलका प्रमुख, शिक्षक तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रराज सापकोटाले गर्नुभएको थियो ।

Share.

Leave A Reply