¥याक बेचेर घर बनाएँ

0

 

शिव गौतम

माघ २१ ।

गैंडाकोट नगरपालिका वडा नं २ निवासी नन्दलाल न्यौपाने ६२ वर्षका भए । तर उनको उद्यम गर्ने धोको भने अझै पनि सेलाएको छैन । उनी आफ्नो वृद्ध अवस्थामा पनि बाँसका हस्तकला सामग्रीहरू बनाउने गरिरहेका छन् । गैंडाकोट पट्टिको नारायणी किनारमा उनले अग्रणी अन्तर लघु उद्यमी समूह सञ्चालन गरिरहेका छन् । उनी भन्छन्, ‘पहिलो पटक २०५७ सालमा म लगायत अरु २२–२३ जनाले बाँसको हस्तकला बनाउने तालिम लिएका थियौं । त्यस बेला दुई वटा एन.जी.ओ.हरूले ३ महिने तालिम दिएका थिए ।’ उनी थप्छन् , ‘तालिम लिइसकेपछि बाँसको हस्तकला बनाउने काम नै मेरो पेसा बन्यो ।’ तालिम पछि पनि देशका विभिन्न भागमा उद्यम अवलोकन भ्रमणमा जाने गर्नाले व्यवसायमा लाभ पुगेको उनी सुनाउँछन् ।

अग्रणी लघु उद्यमी समूहमार्फत उनले बाँसको कुचो, ¥याक, मुढा, आदि बनाउने गरेका छन् । यी सामग्री तयार पार्न विशेष प्रकारको बाँस चाहिने भएकाले आसामबाट बिरुवा ल्याएर नजिकै मौलाकालिका सामुदायिक वनमा हुर्काइएको उनले जानकारी दिए । वर्षाको समयमा काम कम हुने भएपनि अन्य समयमा भ्याइनभ्याइ हुने गरेको उनी बताउँछन् । उनी दिनभर नारायणी तिरको चौतारामा बसी बाँसको काम गरिरहेका हुन्छन् । उनी भन्छन्, ‘बजारमा प्लाष्टिक, स्टिल लगायत नयाँ प्रविधिबाट बनेका ¥याकहरू देखिने भएपनि बाँसको मागमा कमी आएको छैन । बुटवल, चन्द्रौटा, दाङलगायतका ठाउँबाट पनि माग हुने गरेको छ । दैनिक जसो २० ओटासम्म ¥याक बिक्री हुन्छन् । दिनमा लगभग १०‌ हजार कमाइन्छ ।’

नेपालमा काम नै पाइदैँन भन्नु गलत भएको उनको बुझाइ छ । विदेशमा गएर डलरको सपना देख्नेहरूले भन्दा बढी पैसा नेपालमै बसी बाँसको हस्तकला उद्यमबाट पनि कमाउन सकिने उनी दाबी गर्छन् । ‘मान्छेहरू कुर्सीमा बसेर गर्ने सजिलो काम खोज्छन् । यस्तो काम गर्न युवापुस्ताले पनि रहर गरेको देखिँदैन ।’ उनले भने, ’यो उद्यम सुरु गर्दा मेरो घर थिएन । बाँसको सामग्री बेचेरै १० कोठे घर बनाएको छु । ¥याक बेचेर कमाएको पैसाले नै चारवटा छोराहरू हुर्काउन सफल भएँ ।’

नेपालमा काम गर्ने अवसर नै छैन भनेर गफ हाँक्नेहरूका लागि लघु उद्यमी नन्दलाल न्यौपाने एउटा कसिलो जवाफ बनेका छन् । उनी भन्छन्, ‘काम सानो र ठूलो हुँदैन । सरकारले लघु उद्यमको क्षेत्रमा थप जनशक्ति आकर्षित गराउन भूमिका खेल्नुपर्ने देख्छु ।’

 

Share.

Leave A Reply