१२औं चितवन महोत्सव आजबाट सुरु

0

शिव गौतम,

पौष २५, भरतपुर ।
उद्योग वाणिज्य संघ चितवन, भरतपुर महानगरपालिका र चितवन जिल्ला समन्वय समितिले संयुक्त रूपमा आयोजना गर्ने चितवन महोत्सवको १२औं संस्करण आजबाट नारायणी नदी किनारमा सुरु भएको छ । माघ ४ गतेसम्म चल्ने महोत्सवको पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको हो ।

शुभकामना व्यक्त गर्ने क्रममा उहाँले निजि क्षेत्रलाई प्रोत्साहन गरेको खण्डमा मात्र समृद्धीको सपना पूरा हुने बताउनुभयो । निजि र सार्वजनिक क्षेत्रबीच घनिष्ठ सम्बन्ध र सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो । विगतमा विकासलाई गति दिने मानचित्रका बारेमा भ्रम हुनेगरेको भन्दै हाल त्यो अवस्था नरहेको उहाँले दाबी गर्नुभयो । जनताले अनुभूति गर्ने किसिमको विकासका काम गरेर देखाउनु मुख्य चुनौती रहेको उहाँले स्वीकार्नुभयो ।
भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पनि महोत्सवले पर्यटकीय स्थलहरूको पहिचान गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अर्थतन्त्रलाई चलायमान बनाइराख्न पनि मेला महोत्सवको भूमिका रहने भनाइ राख्नुभयो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले नेपाल भ्रमण वर्ष २०२० आउँदै गर्दा महोत्सवले पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्न सघाउ पुर्याउने बताउनुभयो । भरतपुरमा क्रिकेट मैदानको निर्माण भएपछि चितवन खेलकुद पर्यटनको दृष्टिकोणले पनि उत्कृष्ट गन्तव्य बन्न सक्ने उहाँले जिकिर गर्नुभयो । महानगरमै भएर पनि उचित ध्यान पाउन नसकेको नगर वनको विकासका लागि पनि महोत्सव स्थलबाट नगर वनसम्म जीप सफारी गराइने उहाँले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डी राज ढकाल, महासंघ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
महोत्सवको उद्घाटन हुनु अघि विभिन्न जातजातिको झाँकी, बाजागाजा, रथयात्रा र विद्यार्थीहरूको मार्चपास सहित शोभायात्रा पनि निकालिएको थियो । महोत्सवमा यस पटक ुमेड इन नेपाल स्टलु ९नेपालमै बनेका सामग्री राखिने स्टल०, माछाको मूर्ति र फन पार्क पनि अवलोकन गर्न सकिने आयोजकले जनाएको छ । १० दिनसम्म चल्ने महोत्सव ५ लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

कार्यक्रममा १२औं चितवन महोत्सव स्मारिका र पर्यटक गाइड पुस्तक पनि लोकार्पण गरिएको थियो ।

Share.

Leave A Reply