जापानमा अमेरिकी दुई लडाकु विमान ठोक्किदा ६ जना वेपत्ता

0

२० मंसिर, जापानमा तेल भर्ने क्रममा दुई अमेरिकी लडाकु विमान आपसमा ठोक्किएर दुर्घटना भएका छन् । लडाकु विमानमा सवार ६ जना नौसैनिक वेपत्ता छन् ।अमेरिकी रक्षा विभागका अनुसार जापानको इवाकुनीस्थित मरिन कर्प्स एयर स्टेशनमा आज सी–१३० र एफ–१८ लडाकु विमान दुर्घटनामा परेका हुन् । दुर्घटनास्थल समुद्री किनारभन्दा करिब ३ सय किलोमिटर टाढा पर्दछ ।
वेपत्ता सैनिकहरुको खोजी कार्य जारी छ । यसका लागि चिकित्सकहरुको टोली पनि क्रु मेम्बरहरुसँगै परिचालित छन् । खोजी कार्यका लागि जापानले पनि चार वटा एयरक्राफ्ट र तीन जहाज परिचालन गरेको छ । जापानले पनि खोजी कार्यमा सहयोग गरेको भन्दै अमेरिकी अधिकारीहरुले धन्यवाद दिएका छन् ।
अमेरिकी अधिकारीहरुका अनुसार दुवै लडाकु जहाजले नियमित तालिमको क्रममा मरिन कर्प्स स्टेशनबाट उडान भरेका थिए । तर, आज दुर्घटना भयो । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी छ ।अमेरिकी नौसेनाले जारी गरेको विज्ञप्तिअनुसार जापानमा ५० हजार सैनिक छन् र यो दुर्घटनालाई सामान्य भन्न मिल्दैन । गत नोभेम्बर महिनामा पनि अमेरिकी नेभी लडाकु विमान जापानको समुद्रमा दुर्घटना भएको थियो । यद्यपि, विमानमा सवार दुवै जना क्रु–मेम्बरलाई सकुशल उद्धार गरिएको थियो ।

Share.

Leave A Reply