play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

प्रेस युनियन चितवनको भवन उद्घाटन, प्रेसमाथिको हस्तक्षेप मान्य नहुने : कांग्रेस सभापति देउवा

0

शिव गौतम

असोज २६, भरतपुर ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेसमाथिको हस्तक्षेप सह्य नहुने बताउनुभएको छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले आज भरतपुरमा नेपाल प्रेस युनियन चितवनद्वारा निर्मित ‘नेपाल प्रेस युनियन मैँयादेवी सूचना केन्द्र’ भवनको उद्घाटनमा पत्रकारहरू स्वतन्त्र हुनुपर्नेमा जोड दिनुभएको हो । पञ्चायतकालमा पार्टी प्रेस स्वतन्त्रताकै पक्षमा रहेको स्मरण गराउँदै आफूहरू अहिले पनि प्रेसमाथि लाग्ने अंकुशको विरुद्ध रहेको जानकारी दिनुभयो । फरक प्रसंगमा उहाँले संविधान लागू हुन नसकेकोमा चिन्ता पनि प्रकट गर्नुभयो । संविधान समावेशी रहेको उहाँको भनाइ थियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले लोकतन्त्रमा पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताउनुभयो । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले युनियनसँग सहकार्य गर्ने इच्छा रहेको बताउँदै पत्रकारहरूलाई तथ्यपरक सूचना मात्र सम्प्रेषण गर्न आग्रह गर्नुभयो । भवन उद्घाटन कार्यक्रममै पत्रकारिता क्षेत्रमा उत्कृष्ट कार्य गर्ने पत्रकारहरूलाई ‘क्रियाशील पत्रकारिता पुरस्कार’ र ‘चिजकुमार विष्णुकुमारी श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार’ पनि प्रदान गरिएको थियो । नारायणी अन्लाइनका राजु चौधरीले ‘क्रियाशील पत्रकारिता पुरस्कार’ प्राप्त गर्दा रु. ५५ हजार १ सय ५१ राशिको ‘चिजकुमार विष्णुकुमारी श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार’ बाट किशोर नेपाल ( वि.सं. २०७३), कुल चन्द्र वाग्ले (वि.सं. २०७५) र तेजप्रकाश पण्डित (वि.सं. २०७५) सम्मानित हुनुभयो । कार्यक्रममा भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा युनियनलाई जग्गा दान गर्नुभएकी समाजसेवी मैँयादेवी श्रेष्ठ, प्रदेश सभा सांसद गीता वाग्ले, प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारी, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, लगायतको उपस्थिति रहेको थियो । १३ धुर जग्गामा करिब रु. ५५ लाखको लागतमा निर्मित युनियनको भवनमा २ सय ५० जना क्षमताको सभाहल तथा पदाधिकारी कार्यकक्ष रहेका छन् । प्रेस युनियन चितवनको ८ औं जिल्ला महाधिवेशन पनि असोज २६ र २७ मा भरतपुरमा हुँदैछ ।

Share.

Leave A Reply