दसैँमा चितवनमा २५ हजार खसीबोका तथा च्याङ्ग्रा भित्रँदै

0

चितवन, असोज २२ ।
दसैँको अवसरमा चितवनमा खसीको मासुको व्यापार झण्डै ४०० प्रतिशतले बढ्ने गरेको छ । अत्यधिक मासुको माग बढ्ने भएपछि व्यवसायीले झण्डै २५ हजार खसी तथा च्याङ्ग्रा चितवन भित्र्याउँदै छन् । चितवन खसीबोका मासु व्यवसायी संघका महासचिव गणेशप्रसाद कँडेलले अन्य समयको तुलनामा दसैँमा चितवनमा मासुको व्यापार झण्डै चार सय प्रतिशतले बढ्ने बताए । उनले यस वर्ष हरेक वर्ष जस्तै यस वर्ष पनि १५ हजार भन्दा बढी खसीबोका भारतबाट र झण्डै तीन हजार च्याङ्ग्रा मुस्ताङबाट चितवन भित्रिने जानकारी दिए । नेपालमा उत्पादित खसी तथा बोकाले जम्मा १५ प्रतिशत मात्र धान्ने गरेको उनले बताए । चितवन आसपासका पहाडी जिल्लाहरु गोरखा, लमजुङ र तनहुँबाट पनि त्यत्तिकै संख्यामा चितवन खसीबोका दसैँको समयमा भित्रिने गरेका छन् । महासचिव कँडेलले दसैँमा खसीको मासु बोसोसहित ८०० रुपैयाँ प्रति केजी र बोसोरहित मासु ८८० रुपैयाँमा बिक्री हुने बताए । त्यसैगरी च्याङ्ग्राको मासु भने खसीबोकाको भन्दा केही बढी मूल्य पर्ने गरेको छ । चितवनमा च्याङ्ग्राको मासु एक हजार पाँच सयदेखि दुई हजार रुपैयाँ प्रति किलोमा बिक्री हुने गरेको छ ।

Share.

Leave A Reply