play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

छानविन समितिले सर्पदंशित बालकको मृत्युको प्रतिवेदन बुझायो

0
शिव गौतम
असोज ५, भरतपुर । अस्पताल पुर्याउँदा समेत बालकले सर्पदंशको उपचार प्राप्त नगरी मर्नु परेको घटना छानविन गर्न बनेको छानविन तथा सुझाव समितिले प्रशासन कार्यालयलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक तथा निमित्त स्वास्थ्य प्रशिक्षक लक्ष्मी महतोले आज प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदनमा घटनामा संलग्न डाक्टर, नर्स र अन्य कर्मचारीको लापरवाही, पीडितलाई दिइने क्षतिपूर्तिसम्बन्धी व्यवस्था र सुझाव समेटेर निष्कर्ष निकालिएको महतोले बताउनुभयो । सर्पदंशको उपचारका लागि चाहिने एन्टी स्नेकभेनम भरतपुर अस्पतालमा मात्रै हुने थाहा हुँदाहुँदै पनि घाइतेलाई अन्य अस्पतालमा रिफर गर्नु त्रुटिपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ । लापरवाही गर्ने कर्मचारीहरूलाई कस्तो प्रकारको कारवाही गर्ने र पीडितलाई कस्तो क्षतिपूर्ति दिने सम्बन्धमा भने प्रतिवेदन मौन रहेको छ ।
प्रतिवेदनले भरतपुर अस्पतालमा तत्काल कम्तीमा दुई शय्याको सर्पदंश र रेबिजको बिरामीको लागि आइसियु र पीआइसीयुको व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ । प्रतिवेदनमा चितवन जिल्लामा रहेका स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले आगामी दिनमा आवश्यक समन्वय गरेर मात्र क्रिटिकल केसहरू रिफर गर्नुपर्ने उल्लेख गरिएको छ । महतोले जिल्लामा रहेका स्वास्थ्य सेवा प्रदायक संस्थामा कार्यरत चिकित्सक र अन्य कर्मचारीहरूका लागि सम्बन्धित अस्पतालले स्वास्थ्य अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
प्रतिवेदन बुझ्ने क्रममा जितेन्द्र बस्नेतले अस्पतालहरूको भीड रहेको सहरमा बालकले उपचार नपाई मर्नुले दुःखी बनाएको बताउनुभयो । अस्पतालमा उपचारका लागि पुग्ने गरेका घाइतेप्रति कर्मचारीले राम्रो व्यवहार नदेखाएको उहाँको भनाइ थियो । उहाँले स्वास्थ्य सेवा प्राप्त गर्नु जनताको अधिकार भएको भन्दै तिनलाई अस्पतालको ढोकाबाटै फर्काउनु बेठीक भएको बताउनुभयो । गएको भदौ २१ गते सर्पले टोकेर घाइते भएका बालक सलीन विकको उपचार नपाएर मृत्यु भएको थियो ।

 

Share.

Leave A Reply