play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

महेन्द्र राजमार्ग चार लेन बनाइने

0

साउन, २४ ।

सरकारले दातृ निकायको सहयोगमा पूर्व–पश्चिम जोड्ने एक हजार ५० किलोमिटरको महेन्द्र राजमार्ग चार लेन बनाउने भएको छ । पहाडी भूभागमा दुई लेन र अन्य सम्भव भएका सबै स्थानमा चार लेन बनाउने तयारी भइरहेकोे भौतिक पूर्वाधार तथा यातायात सचिव मधुसूदन अधिकारीले जानकारी दिए ।

यो राजमार्ग विस्तार गर्न आवश्यक अध्ययनका निम्ति भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहितको एक टोलीले यसैसाता कोसी ब्यारेजको स्थलगत निरीक्षण गर्ने भएको छ । यो ब्यारेज धेरै पुरानो भएको र जीर्ण भइसकेकाले यसको विकल्प खोज्नुपर्ने भइसकेको छ। कसरी नयाँ विकल्प खोज्ने भन्ने विषयमा अध्ययन सुरु भइसकेको भौतिक मन्त्रालयको भनाइ छ ।

यो ब्यारेजको विकल्पमा पूर्व–पश्चिम रेलमार्गका लागि चाहिने पुलसँगै जोडेर नयाँ पुल बनाउने, कोसीटप्पु बन्जन्तु आरक्ष नजिकबाट नयाँ सडकसहितको पुल बनाउने, रेल र सडक एउटै स्थानबाट तलमाथि राखेर लैजाने वा लौकी हिमाल छेउबाट यो राजमार्ग लैजान सकिनेसहितको विकल्प छ। यसमध्ये सबैभन्दा उपयुक्त कुन विकल्प हुन्छ भनेर सरकारले स्थलगत अध्ययनबाट तय गर्नेछ। हाललाई भने कोसीटप्पु छेउबाट यो बाटो लैजाँदा पुलको लम्बाइका कारण समान दूरी ३७ किमिको दूरी हुने भएकोले पनि यसलाई हेर्न सकिने पनि सचिव अधिकारीको बुझाइ छ ।

महेन्द्र राजमार्गको नारायणगढदेखि बुटवलसम्मको एक सय १५ किलोमिटर र कमला कन्चनपुर ८७ किलोमिटर सडक स्तारोन्नति गर्ने विषयमा आवश्यक प्रक्रिया नै अगाडि बढिसकेको छ । यो सडकखण्डको पहिलो खण्डको रूपमा चालू आवमा नै ठेक्का लगाउने गरी नारायणगढ बुटवल खण्ड तयार भइसकेको छ । यो खण्डमा करिब १६ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। एडीबीकै ऋण सहयोगमा यो राजमार्ग विस्तार गर्न लागिएको पनि भौतिक मन्त्रालयले जानकारी दिएको छ ।

यो राजमार्गको दोस्रो खण्डका रूपमा विस्तृत परियोजना अध्ययन प्रतिवेदन तयारी अवस्थामा रहेको कमला कञ्चनपुर सडकको ठेक्का लाग्ने जानकारी सडक विभाग अन्तर्गतको एडीबी निर्देशनालयका प्रमुख सरोज प्रधानले बताए । उनका अनुसार यो सडक बनाउन एडीबीकै ऋण सहयोगमा आयोजना अगाडि बढाउने तयारी भएको छ । ८७ किमिको यो सडक विस्तार गर्न २० करोड अमेरिकी डलर (करिब २१ अर्ब रुपैयाँ)मा लागत अनुमान गरिएको जानकारी पनि प्रधानले दिए ।

यो सडकको चितवन खण्डमा आएर एउटै अलाइनमेन्टमा पर्ने मदनभण्डारी राजगमार्ग मिसिएको स्थानमा भने सडकलाई चौंडा गरेर आवश्यकता अनुसार ठूलो बनाइने जानकारी पनि सडक विभागले जानकारी दिएको छ । मदन भण्डारी राजमार्गलाई यही महेन्द्र राजगर्माको चितवन, नवलपरासी, कपिलवस्तु हुँदै जाने सडकको करिब ३० किमि एउटै अलाइनमेन्टमा हुनेछ ।

सरकारले महेन्द्र राजमार्गको विकल्पमा झापाको शान्तिनगरदेखि डडेल्धुराको रुपालसम्मको मदन भण्डारी राजमार्गले जोड्ने भएको छ ।

Share.

Leave A Reply