इरानविरुद्ध अमेरिकाको नयाँ प्रतिबन्ध, ‘मनोवैज्ञानिक युद्ध’को संज्ञा

0

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौताबाट हटेपछि नयाँ प्रतिबन्धको घोषणा गर्दै छन् ।

यो प्रतिबन्ध केही घण्टापछि लागु हुने जनाइएको छ । नयाँ प्रतिबन्ध अटोमोबाइल क्षेत्रसँगै इरानको सुन र बहुमुल्य धातुको व्यापारमा सम्बन्धित छ ।

आर्थिक दबाबका कारण इरान नयाँ सम्झौताका लागि तयार हुने र आणविक गतिविधि रोक्ने ट्रम्पको विश्वास छ ।

अमेरिकी राष्ट्रपतिले प्रतिबन्ध उल्लंघन गरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएका छन् ।

यता इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी कदमलाई मनोवैज्ञानिक युद्धको संज्ञा दिएका छन् ।

सरकारी टेलिभिजनमा सम्बोधन गर्दै रुहानीले अमेरिकासंग तत्काल वार्ताको सम्भावना नभएको भन्दै कूटनीति र वार्ताको पक्षमा रहे पनि यसमा इमान्दारिता जरुरी रहेको बताए ।

सन् २०१५ मा इरानसँग गरिएको उक्त सम्झौताका अरु हस्ताक्षरकर्ता मुलुकहरु रुस, चीन, बेलायत, फ्रान्स र जर्मनीले भने अमेरिकी कदमको आलोचना गरेका छन् ।

उनीहरुले सम्झौता अनुसारको भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उक्त सम्झौता अनुसार इरानले विवादित परमाणु गतिविधि नियन्त्रण गर्ने र यसको बदलामा उमाथिको प्रतिबन्ध खुकुलो पार्ने लगायतका प्रावधान थिए ।

इरानले आफ्नो आणविक कार्यक्रम शान्ति पूर्ण उद्धेश्यका लागि भएको दाबी गर्दै आएको छ ।

Share.

Leave A Reply