चैत २१ – सुख्खा पहिरो खसेर बिहानदेखि अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्डमा अहिले गाडी चल्न थालेका छन् ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा सडकमा खसेको पहिरोको केही भाग पन्छाएपछि बाटो खुलेको प्रहरीले जनाएको छ । तर गाडीको लाइन निकै लामो भएकाले सबै गाडी पास हुन समय लाग्ने भएको छ ।
बिहान १० बजेतिर चितवन कविलासको घुमाउने भन्ने ठाउँमा ठूलो सुख्ख पहिरो खसेर गाडी तथा मोटरसाइकल पुरिँदा दुई जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
ज्यान गुमाउनेमा लम्जुङ सुन्दरबजारका रेशराज राना रहेका छन् । ना ४ ख ९४१९ नम्बरको ट्यांकरका सह चालकको पनि ज्यान गएको छ । तर उनको नाम खुलेको छैन । पहिरोमा अझै केही मानिस पुरिएको आशंका गरिएको छ । पहिरोमा चारवटा गाडी र पाँचवटा मोटरसाइकल पुरिएका घटनास्थलमा रहेका चितवनका एसपी दीपक थापाले जानकारी दिनुभयो । सडक विस्तारका कारण मुग्लिन नारायणगढ सडक खण्डमा पटकपटक सुख्खा पहिरो खस्ने गरेको छ ।