उपत्यकामा केही दिनयता गर्मी बढेको छ । सापेक्षित आद्रता बढी हुँदा गर्मी बढेको मौसमविद्ले बताएका छन् । पानी पर्दा सापेक्षित आद्रता बढेको हो । काठमाडौंमा विहीबार तापक्रम ३२ दशमलव ५ डिग्री पुगेको थियो ।
यसअघि असार २४ गते काठमाडौंको तापक्रम यो वर्षकै धेरै ३२ दशमलव ६ डिग्री सेल्सियस रहेकोमा त्यसयता घट्दै गएको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि उपत्यकामा दिउँसो चर्को घाम लाग्ने सम्भावना छ । आज ३२ देखि ३४ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।
शुक्रबार पश्चिमको एक दुई ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार अरु ठाउँको मौसम भने सामान्यतया बदली हुनेछ ।
अहिले देशका मुख्य नदीमा पानीको वहाव बढे पनि ठूलो बाढीको जोखिम भने छैन । तर शनिबार बागमती, पूर्वी राप्ती, नारायणी, बाणगंगा, तिनाउ, बबई, पश्चिम राप्ती, कर्णाली, मोहना मछेली, महाकालीलगायत मध्य र पश्चिमको चुरेबाट बहने खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।