play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

गुफामा थुनिएका सबैको उद्धारपछि थाइल्याण्डमा खुशियाली

0

२७ असार, थाइल्याण्डमा गएको १८ दिनदेखि बाढीका कारण एक गुफामा थुनिएका सबै १३ जनाको मङ्गलबार उद्धार गरिएपछि यहाँ बुधबार ठूलो खुशियाली छाएको समाचार छ ।

थाइल्याण्ड मात्र नभएर विश्वकै सञ्चारमाध्यमहरुको एक प्रमुख आकर्षणका रुपमा रहेको यस घटनाको बुधबारका विश्वका अखबारमा पनि प्रमुख समाचार बनेको छ ।

तीन दिन लगाएर १२ जना बालक र उनका एकजना फुटवल प्रशिक्षकलाई उक्त गुफाबाट सकुशल बाहिर निकाल्न सफल भएपछि थाइल्याण्डका नौसैनिकहरुले पनि आफ्ना फेसबुक पेजहरुमा निकै ठूलो खुशी साटेका छन् ।

फुटबलको तालिमका लागि गएका १६ वर्ष मुनिका १२ जना बालक र उनीहरूका एकजना २५ वर्षीय प्रशिक्षक व्यापक वर्षापछि आएको बाढीका कारण अठार दिनदेखि गुफामा फसेका थिए ।

थाई नौसैनिकले दिएको जानकारी अनुसार फसेका सबैजनालाई सकुशल उद्धार गरिएको छ । सो गुफामा थुनिएका बाँकी पाँच जनालाई लिएर मङ्गलबार अपरान्ह एम्बुलेन्स चियाङ राइस्थित अस्पताल पुग्दा त्यहाँ रहेका आफन्त र सरकारी अधिकारीहरुले खुशियाली साटासाट गरेका थिए ।

उनीहरुको उद्धारको काम आइतबार बिहानबाट सुरु भएको थियो । आइतबार गोताखोरहरुले चार जनाको मात्र उद्धार गरी बाहिर निकाल्न सकेका थिए ।

त्यस्तै सोमबार चार र मङ्गलबार पाँचजनाको उद्धार गरिएको हो । मङ्गलबार निकै ठूलो वर्षा भएको थियो । वर्षाका कारण उक्त गुफामा पसेको बाढीको बहाव झनै बढेको थियो ।

जसका कारण गुफामा बाँकी रहेका पाँच जनालाई बाहिर निकाल्न नसकिने त होइन भन्ने त्रास पनि बढेको थियो । तर पनि अपरान्ह्सम्ममा उद्धारको काम सम्भव भएपछि भने देशैभरि हर्ष छाएको थियो ।

Share.

Leave A Reply