नवलपरासी, १९ असार–लगातारको वर्षाले जलमग्न भएपछि गाउँ डुबानमा पर्ने डरले सुस्ता गाउँपालिका २ लक्ष्मीपुरका स्थानियबासिन्दाले पानीको निकासका लागि गण्डक नहको बाँध भत्काएका छन् ।
खेतमा बर्षाको पानी भरिएपछि गाउँ डुबानमा पर्ने डरले पानीलाई निकास दिन गण्डक नहरको बाँध भत्काइएको हो ।
पानीले धान खेती डुबानमा परेर नष्ठ हुने र थप बर्षाले पानी गाउँमा पस्ने डरले पानीलाई निकास दिन नहरको बाँध भत्काउन बाध्य भएको स्थानियले बताए । गण्डक नहर भारतीय पक्षको नियन्त्रणमा रहेकाले नहर तथा साईफन एवं कुलोहरुको सरसफाई भारतीय पक्षले नै गर्नु पर्ने हुन्छ ।
तर भारतिय पक्षले उक्त नहरको रानीनगर साईफन र कुलोहरु सफा नगर्दा आफूहरुको खेत डुबानमा परेर बालीनाली नष्ठ हुन लागेको र गाउँ डुवानमा परेर बर्बाद हुने संकेत देखिएकोले स्थानियले गएराति नहरको बाँध फुटाएका हुन् ।
गत वर्षपनि भारी बर्षाका कारण सो गाउँ डुबानमा परि बालीनाली समेत नष्ट भएको थियो । पानीलाई निकास दिएपछि डुवानमा परेको खेतबाट पानी घट्दै गएको छ ।
बाँध भत्काएपछि स्थानीयलाई चौतर्फी दबाब आएको बताइएको छ । सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले भारतीय पक्षका जिम्मेवार निकायलाई जानकारी गराइसकिएको र भारतीय पक्षका प्रतिनिधिहरु आएपछि छलफल गराइने बताए ।