प्रधानमन्त्री कप क्रिकेट :त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब सेमिफाइनलमा

0

जेठ २२ । त्रिभुवन आर्मी क्लब समूह विजेता बन्दै प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।समूहको अन्तिम खेलमा आज सशस्त्र प्रहरी बलको एपीएफ क्लबमाथि ७० रनको जित हासिल गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो ।कीर्तिपुर मैदानमा वर्षाले ४० ओभरमा झारिएको खेलमा आर्मीले पहिले ब्याटिङ गर्दै सबै विकेट गुमाएर २२८ रन बनाएको थियो ।अनिलकुमार मण्डलले ७२ तथा कप्तान विनोद भण्डारीले २३ बलमा ५० रन बनाएको इनिङ्समा भुवन कार्कीले ३ विकेट लिए ।जवाफमा सशस्त्र ३२ ओभर ५ बलमा अलआउट हुँदै १५८ रनमा समेटियो ।अमर राउटेलाले १६ बलमा अविजित रहँदै २९ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्नेक्रममा सोमपाल कामीले ३ तथा सुशन भारी, सागर पुन र शहाब आलमले समान २/२ विकेट लिए ।पराजित सशस्त्र उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ ।
यसैबीच नेपाल पुलिस क्लब पनि सेमिफाइनलमा पुगेको छ ।आजै मूलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा प्रदेश नम्बर–३ लाई ६ विकेटले हराउँदै पुलिस एक खेल खेल्न बाँकी छँदै सेमिफाइनलमा पुगेको हो ।वर्षाले २० ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको प्रदेश–३ ले ९ विकेटको क्षतिमा १३७ रन बनाएको थियो ।सोनु तामाङले ४८ तथा अदिल खानले ४५ रन बनाएको इनिङ्समा रामनरेश गिरीले ३ विकेट लिए ।जवाफमा पुलिसले ४ विकेटको क्षतिमा एक बल खेल्न बाँकी छँदै विजय हासिल गर्‍यो ।५ रन जोड्दा २ विकेट गुमाइसकेको पुलिसका लागि चौथो विकेटका लागि आरिफ शेख र सुनील धमलाबीच ११० रनको साझेदारी भएपछि जित हासिल गरेको हो ।‘म्यान अफ दी म्याच’ घोषित आरिफले ५४ बलमा ६६ तथा सुनीलले ४६ बलमा अविजित रहँदै ५० रन जोडे ।यो समूहबाट समान ३/३ खेलबाट शीर्ष दुईमा रहेका पुलिस र प्रदेश नम्बर–५ समान ५/५ अंकसहित सेमिफाइनलमा पुगेका छन् ।४ खेल खेलिसकेको प्रदेश नम्बर–७ को पनि ५ अंक नै रहे पनि खराब रनरेटका कारण बाहिरिने पक्का भएको हो ।

Share.

Leave A Reply