१४ चैत – चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहालले ‘ग्रेट हल अफ दि पिपुल’मा राष्ट्रपति सीसँग भेट्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सीसँगको भेटलाई प्रधानमन्त्री दाहालले विशेष महत्व दिनु भएको छ । भेटमा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिनुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
प्रधानमनन्त्री दाहालले आफूले नयाँदिल्लीलाई नजिक राखेको र चीनसँग दूरी बढाएको भन्ने बाहिर भएको प्रचारमा सत्यता नरहेको सन्देश पनि चिनियाँ नेतृत्वलाई दिने स्रोतको दाबी छ ।
यसअघि हिजो प्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ तावसँग भेटवार्ता गर्नु भएको थियो ।