जेठ ९, भरतपुर-१४ स्थित शिवनगरमा गुरुङ र तामाङलाई लक्षित गरि आयोजना गरिएको उद्घोषण तालीम सम्पन्न भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर १४ को सहयोगमा गुरुङ तथा तामाङ उपभोक्ता समितिले जेष्ठ ६ गते देखि शिवनगर मन्दिरको सभाहलमा आयोजना गरेको निशुल्क उद्घोषण तालीम सम्पन्न भएको हो । निशुल्क उद्घघोषण तालीममा भरतपुर-१४ का गुरुङ र तामाङ समुदायका २७ जनाको सहभागीता रहेको थियो ।
आज (बुधबार) उद्घघोषण तालीमको समापन गर्दै भरतपुर महानगरपालिका वडा नम्बर १४ वडा सदस्य सरस्वती पौडेलले अभ्यासले नै मानिसलाई सक्षम बनाउने भन्दै उद्घघोषण तालिम प्रमाणपत्रको लागि मात्र नभई ब्यबहारिक जिवनमा प्रयोग हुने विश्वास व्यक्त गर्नु भयो। उहाँले वडाबाट आगामी दिनहरुमा पनि तामाङ र गुरुङ समुदायहरुको कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनु भयो ।
गुरुङ तथा तामाङ उपभोक्ता समितिका सचिव हरिकृष्ण गुरुङले यस समुदायका मानिसहरु स्वभावले नै लज्जालु र समुदायमा बोल्न हिच्किचाउने भएकाले उनिहरुको क्षमता विकासका लागी उद्घोषण तालीम गरिएको बताउनुभयो ।
तालीममा सिनर्जी एफएमका कार्यक्रम संयोजक रामकान्त पौडेल, रविन सुवेदी, सविता अधिकारीले उद्घोषण प्रशिक्षण गर्नुभएको थियो । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।
