play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

चितवनमा उद्योग क्षेत्रमा दुई खर्बभन्दा बढी लगानी

0

बैशाख २७, औद्योगिक क्षेत्र बनिनसके पनि जिल्लामा विभिन्नखालका उद्योगमा लगानी गर्ने क्रम बढ्दै गएको छ । रु दुई खर्बभन्दा बढी लगानी भएको व्यवसायीको भनाइ छ ।सरकारी र निजी क्षेत्रले यकिन तथ्यांक संकलन नगरे पनि उद्योगीले गरेको अनुमानमा जिल्लाका विभिन्न क्षेत्रका उद्योगमा रु दुई खर्बभन्दा बढी लगानी भएको पाइएको छ । व्यवसायीका अनुसार यस जिल्लामा सबैभन्दा बढी पोल्ट्री क्षेत्रमा लगानी भएको छ । पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार देशभरमा पोल्ट्री क्षेत्रमा रु ८० अर्बभन्दा बढी लगानी छ । रु ४० अर्बभन्दा बढी लगानी चितवनमा मात्रै छ । दाना उद्योग, ह्याचरी, पोल्ट्री फार्मलगायतमा लगानी भएको हो । दानामा भारतीय र चिनियाँ व्यवसायीले समेत लगानी गरेका छन् । पोल्ट्रीपछि सबैभन्दा बढी लगानी होटल क्षेत्रमा भएको छ । सौराहा र राप्ती नदी किनारमा पर्यटकीय ठूला होटल रहेका छन् । त्यसैगरी भरतपुर र रत्ननगर क्षेत्रमा पनि होटल एवं पार्टी प्यालेसमा ठूलो लगानी भएको छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार जिल्लामा १५४ वटा पर्यटकीय होटल छन् । सो क्षेत्रमा रु १५ अर्बभन्दा बढी लगानी भएको अनुमान गरिएको उनले बताए ।
त्यस्तै स्वास्थ्य क्षेत्रमा पनि ठूलो लगानी भएको देखिएको छ । चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा.हरिश्चन्द्र न्यौपानेका अनुसार सो मेडिकल कलेजमा मात्रै रु चार अर्ब लगानी भएको छ । एउटा मेडिकल कलेज र २२ वटा निजी अस्पताल जिल्लामा छन् । मेडिकल कलेज र निजी अस्पतालमा गरी रु १५ अर्बभन्दा बढी लगानी भएको अनुमान छ । शिक्षा क्षेत्रमा पनि जिल्लामा ठूलो लगानी भएको व्यवसायी बताउँछन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० चितवनका अध्यक्ष देशबन्धु अधिकारीका अनुसार जिल्लामा रहेका १८० निजी विद्यालयमा रु १० अर्बभन्दा बढी लगानी छ । त्यस्तै प्राविधिक कलेजहरुमा पनि ठूलो लगानी रहेको कलेजका सञ्चालकहरु बताउँछन् । युनाइटेड टेक्निकल कलेज भरतपुरका अध्यक्ष चूडामणि खनालका अनुसार प्राविधिक कलेजमा रु तीन अर्बभन्दा बढी लगानी रहेको छ ।
उद्योग वाणिज्य महासंघ प्रदेश नं ३ का उपाध्यक्ष एवं उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष राजन गौतमका अनुसार जिल्लाका उद्योगको यकिन तथ्यांक संकलन नभए पनि करीब चार हजारभन्दा बढी उद्योग सञ्चालनमा रहेका छन् । देशमै सबैखाले उद्योगको क्षेत्रमा सबैभन्दा बढी लगानी भएको जिल्ला चितवन हो । देशभरका बासिन्दाको संगमथलो चितवन भएकाले उद्योगमा पनि विविधता भएको उनले बताए । पछिल्लो समय कोरिया र चीनका लगानीकर्ताले जिल्लामा उद्योगको क्षेत्रमा लगानी गर्न इच्छा व्यक्त गर्दै आएका छन् ।

Share.

Leave A Reply