१९ वैशाख, हाल बंगलादेशमा रहेका म्यानमारका रोहिंग्या शरणार्र्थीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा म्यानमार र बंगलादेशलाई अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्ने भएको छ ।
केही समय अघि यी दुई देशबीच शरणार्थी फिर्तागर्ने सम्बन्धमा सम्झौता भएको थियो । अन्तर्राष्ट्रिय समुदायले त्यस सम्झौतालाई सहयोग गर्ने भएको बताएको छ ।
अन्तर्राष्ट्रिय समुदायको उक्त सहयोग म्यानमारले स्वीकार गरेको जनाएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका प्रतिनिधिहरुसँग मङ्गलबार भएको भेटवार्तापछि म्यानमाली विदेशमन्त्री आङ सान सुकीले सो सहयोगप्रति समर्थन गर्नुभएको हो ।
मङ्गलबार भएको सो भेटवार्तापछि बुधबार यहाँको विदेशमन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी दिएको हो ।
विदेशमन्त्री सुकीले ती शरणार्थीको फिर्तीको प्रक्रियामा संयुक्त राष्ट्रसंघीय एजेन्सीको सहभागिता स्वागतयोग्य हो भन्नुभयो ।
सो भेटका क्रममा उहाँले शरणार्थी फिर्ताको लागि संयुक्त राष्ट्रसंघको संलग्नताले ती शरणार्थीहरुलाई पनि सुरिक्षत रुपमा आफ्नो देश फर्किनका लागि सघाउ पु¥याउने धारणा राख्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रतिनिधिहरुले बंगलादेश र म्यानमारको भ्रमण गरी म्यान्माली शरणार्थीको अवस्थाको बारेमा अध्ययन गरेका थिए । उनीहरुले सहायता उपलब्ध गराउन विश्वका दाता राष्ट्र तथा संस्थाहरुलाई आग्रह पनि गरेका थिए ।