जर्मन चिकित्सक रर्वट कुकले सन् १८८२ मार्च २४ तारिखमा क्षयरोग अर्थात टीबीको किटाणु पत्ता लगाएको दिनको सम्झनामा हरेक वर्ष मार्च २४ तारिखका दिन विश्व क्षयरोग दिवस मनाउने गरिएको हो । दिवसको अवसरमा क्षयरोगका क्षेत्रमा काम गर्दै आएका सरकारी तथा गैरसकारी संस्थाले बाहिर रहेकालाई उपचारको पहुँचमा ल्याउन र क्षयरोग लाग्न नदिने उपायका बारेमा विभिन्न कार्यक्रम गर्दैछन् ।
क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ । एक जना क्षयरोगीले समयमा औषधी नगर्दा एक वर्षमा अरु १० देखि १५ प्रतिशतलाई रोग सार्ने चिकित्सकहरुले बताएका छन् ।
सक्रिय खालको क्षयरोग भएको व्यक्तिमा लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, रातीमा पसीना आउने, थकाई लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्या केही दिन या केही महिना सम्म देखिन्छ । यस्तो बेला तत्काल परिक्षण गराएर औषधी शुरु गरिहाले रोगबाट जोगिन सकिने चिकित्सकको सुझाव छ ।
क्षयरोग सजिलै उपचार हुने रोग भएकाले रोग लागेको थाहा हुने बित्तिकै नियमीत औषधी सेवन गरे यसबाट जोगिन सकिन्छ । नेपालमा अहिले ८० हजार ५ सय क्षयरोगी रहेको सरकारी तथ्याङ्क छ । नेपालमा वर्षेनी ५ देखि ७ हजार क्षयरोगीको मृत्यु हुने गरेको छ ।