चैत ९ । राप्ती नगरपालिका ८ व्रह्मनगरमा शुक्रवार आयोजित निशुल्क पशु स्वास्थ्य शिविरबाट ८ सय ३४ वटा पशु लाभान्वित भएका छन् । राप्ती नगरपालिकाको पशु सेवा शाखाको आयोजना तथा स्थानीय भगवती दुग्ध उत्पादक सहकारी संस्थाको सहआयोजना र नेपाल पोलिटेक्निक इन्सीच्युटको प्राविधिक सहयोगमा भएको सो शिविरबाट सो संख्याका पशुहरु लाभान्वित भएका हुन् । शिविरमा उपचार सेवा पाएका ४ सय ६४ पशु मध्ये २ सय ८७ वटामा वाँझोपनको समस्या देखिएको पशु सेवा शाखा प्रमुख शैलेन्द्र भण्डारीले वताए । आन्तरीक परजिवी,किसानमा प्राविधिक ज्ञान नहुनु,आहाराका कारण वाँझोपनको समस्या देखिएको भण्डारीले वताए । शिविरमा थप ३ सय ७० वटा पशुले खोप सेवा पाएको भण्डारीले जानकारी दिए । नगरपालिका मातहतमा आएपछि राप्तीमा यो पहिलो पटक शिविर आयोजना गरिएको हो । सो शिविरमा डाक्टर महेश्वर सापकोटा,डाक्टर योगेन्द्र श्रेष्ठ,डाक्टर श्यामवहादुर राउत,पशु स्वास्थ्य प्राविधक विनोद कुमार लाल कर्णसहितको टोली सहभागी थियो । शिविरमा विभिन्न कम्पनीको सहयोगमा करिव डेढ लाख वरावरको औषधी समेत निशुल्क रुपमा वितरण गरिएको थियो । राप्ती नगरपालिका ८ का वडाध्यक्ष वुद्धिराज थपलियाको प्रमुख आतिथ्यता तथा दुग्ध सहकारीका अध्यक्ष किरणराज ढकालको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।
व्रह्मनगरमा पशु स्वास्थ्य शिविर सम्पन्न
0
Share.