चैत ७ – रुपन्देहीका तीन गाउँपालिकामा मधेसी मोर्चाले तालाबन्दी गरेको छ । क्षेत्र नम्बर ६ मा रहेका कोटीमाई, मर्चवारी र समरीमाई गाउँपालिका कार्यालयमा मधेसी मोर्चाका कार्यकर्ताले तालाबन्दी गरेका हुन् ।
उनीहरुले त्यहाँ लगाएको गाउँपालिकाको बोर्ड निकालेर तालाबन्दी गरेका हुन् । उनीहरुले सम्बन्धित गाउँपालिकाको वडा कार्यालयमा पनि तालाबन्दी गरेको बताएका छन् ।
७ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा स्थानीय तहको पछिल्लो संरचनामा बुटवल उपमहानगरपालिकासहित ५ नगरपालिका र ९ वटा गाउँपालिका कायम गरिएको छ ।
जिल्ला समन्व समिति रुपन्देहीका स्थानीय विकास अधिकारी युवराज सुवेदीले गाउँपालिकामा लगाएको तालाबन्दी खुलाउन र कर्मचारीको सुरक्षा प्रवन्ध मिलाउन सुरक्षा निकायसँग समन्वय भइरहेको बताउनुभयो ।