२३ फागुन-राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।
नेकपा एमालेले राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्याउने निर्णय गरेपछि भण्डारीले बुधबार मध्याह्न बानेश्वरस्थित संघीय संसद् भवनमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।
भण्डारीको प्रस्तावकमा एमाले नेता माधव नेपाल, महासचिव ईश्वर पोखरेल, माओवादी नेत्री एवम् पूर्वसभामुख ओनसरी घर्ती तथा समर्थकमा माओवादी नेता एवम् गृहमन्त्री रामबहादुर थापा बादल, एमाले सांसद भानुभक्त ढकाललगायत छन् ।
भण्डारीभन्दा अगाडि नै पुगेर कांग्रेस उम्मेदवार कुमारीलक्ष्मी राईले पनि उम्मेदवारी दर्ता गराइसकेकी छन् ।
निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज अपराह्न ३ बजेसम्म मनोनयनका लागि समय तोकेको छ ।