फागुन ३० – नेपालको पर्यटन प्रवद्र्धनका लागि युएईमा पहल थालिएको छ । युएईमा रहेका इमराती नागरिक तथा यहाँ कार्यरत अरु देशका नागरिकलाई पर्यटकको रुपमा नेपाल भित्र्याउन नेपाल एयरलाइन्सले पहल सुरु गरेको हो ।
नेपाल वायु सेवा निगमले दुवई–काठमाडौं उडान सुरु गरेकाले दुवईबाट नेपालमा पर्यटक भित्र्याउन सकिने लक्ष्य राखेर युएईमा रहेका सञ्चारमाध्यमा आवद्ध सञ्चारकर्मी र पर्यटक प्रदायक कम्पनीहरुका प्रतिनिधीलाई नेपाल भ्रमण गराएको हो ।
भ्रमण टोलीमा युएईको स्थानीय खालिज टाइम्स दैनिककी पत्रकार पुर्भा ग्रोभेर, पत्रकार मुस्ताफा मस्जिद खान्सा अलब्रोथी, द गल्फ टुडेका सहायक अर्थ सम्पादक रेहमान इनायत हजी नदिर खान रहनु भएको थियो ।
त्यस्तै युएईको ट्राभल्स समुह आण्टा ग्रुपका जेनेरल म्यानेजर कुमार जगदिसन र सेल्स म्यानेजर पौल साजु तथा दुवई अन्तर्राष्ट्रिय विमानस्थलका विजनेस डेभलपमेन्ट म्यानेजर साक्षी मिश्रको टोलीले नेपालका पर्यटकीय स्थलको अवलोकन गरेर युएई फर्केको हो ।
टोलीले फागुन २३ देखी २६ सम्म नेपालका पर्यटकीय स्थलहरु पोखरा, सगरमाथा बेसक्याम्प तथा हिमाली क्षेत्र र काठमाडौंका विभिन्न स्थलको अवलोकन गरेर फर्केको एयरलायन्सका युएई कन्ट्री म्यानेजर रमेश पौडेलले जानकारी दिनुभयो ।
युएईमा एक सय १० भन्दा धेरै मुलुकका नागरिक बसोबास गर्ने र उनीहरुलाई नेपालबारे जानकारी गराउन सके नेपाल भ्रमणका लागि सहयोग पुग्नेछ । उनीहरुले नेपालको प्राकृतिक सौन्दर्य र भौगोलिक अवस्था देखेकाले नेपालबारे सकारात्मक प्रचारप्रसार गरेर युएईबाट पर्यटक भित्र्याउने लक्ष्य एयरलाइन्सले राखेको छ ।