माघ १७, प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूलाई मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्यालय निवेदन दिएका छन्। प्रधानन्यायाधीशबाट आफ्नो ज्यानमा ‘खतरा’ भएकाले सुरक्षा माग्दै आज बिहान सिडिओ कार्यालय गएर भण्डारीले निवेदन गरेका हुन्।
त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले प्रधान्यायाधीश पराजुलीबारे प्रश्न उठाएपछी अदालतले लगाएको अवहेलना मुद्दामा वहस पैरवी गरेकोमा प्रतिशोध साँधेर आफूमाथि बेलाबेलामा धम्की आएको भण्डारीले निवेदनमा उल्लेख गरेका छन्।
आज बिहान जिल्ला प्रशासनमा जिउज्यानको सुरक्षा माग्दै आफूले निवेदन दिएको भण्डारीले जानकारी दिए। सर्वोच्च अदालतले डाक्टर केसीलाई अदालतको अवहेलना मुद्दा लगाएपछि भण्डारीले केसीको मुख्य वकिलको रूपमा बहस गरेका थिए।
बहस सकिएकै दिन पुस २६ गते साँझ ५: ३० बजे पराजुलीले फोन गरेर ‘म तपाईलाई मार्दिन्छु’ भन्दै धम्क्याएको भण्डारीले बताए। गत बिहिबार आफूले लेखेको लेख नागरिकमा छापिएपछि पनि पराजुलीले फोन गरेर धम्क्याएको भण्डारीले बताए।