५ माघ, निर्माणाधीन नारायणगढ मुग्लिन सडक खण्ड माघ १३ गतेदेखि दिउँसोमा पनि बन्द गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालयमा बसेको ठेकेदारका प्रतिनिधि, आयोजनाका अधिकारीसहितको बैठकले माघ १३ देखि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गर्ने निर्णय गरेको हो ।अहिले सो सडकखण्ड राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको छ । रातिमा सडक बन्द गर्दा धेरै काम गर्न नसकिएकाले दिउँसोमा बन्द गर्न लागिएको हो ।ठेकेदारसँग आयोजनाको सम्झौता अवधि सकिन जम्मा १ महिना मात्रै बाँकी हुँदा काम भने २९ प्रतिशत बाँकी नै छ । हालसम्म ९२ प्रतिशत काम सकिनुपर्नेमा जम्मा ७१.१ प्रतिशत मात्रैं काम सकिएको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दिउँसोको समयमा ६ घण्टा सडक बन्द गरी १ महिना काम गर्न दिने बताए । १ महिनाभित्र दिउँसोमा बन्द गरी काम गर्दा हुने प्रगतिको स्पष्ट कार्ययोजना, ट्राफिक म्यानेजमेन्ट र प्रतिदिनको प्रगति विवरण ३ दिन भित्र पेश गर्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी भट्टले बताए ।प्रजिअ भट्टले जोखिम रहेका ४ वटा पुलमा प्रहरी राखेर जाम हुन नदिन ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तलाई निर्देशन दिए । यी पूल निकै जीर्ण र जोखिम छन् । प्रजिअ भट्टले यस्ता जोखिम भएका पुलमा ठूला गाडीहरुलाई एकैपटक वारपार गर्न नदिन पनि निर्देशन दिएका छन् ।
नारायणगढ मुग्लिन सडकखण्ड माघ १३ गतेदेखि दिउँसोमा पनि बन्द गरिने
0
Share.