रजनीकान्तको जन्मदिन आज, यसरी पाएका थिए फिल्ममा ब्रेक

0

२६ मंसिर — दक्षिण भारतका मेगास्टार रजनीकान्तको मंगलवार ६७औं जन्मदिन परेको छ । सन् १९५० को १२ डिसेम्बरमा बेंगलुरुमा जन्मेका रजनीकान्तका प्रशंसकहरूका लागि यो दिन कुनै समारोहभन्दा कम छैन ।अभिनेता बन्नुअघि रजनीकान्त एक बस कन्डक्टर थिए । उनलाई सन् १९७५ मा पहिलोपटक फिल्म खेल्ने अवसर प्राप्त भएको थियो । फिल्मको नाम अपूर्व रागंगल थियो । त्यसमा कमल हासन मुख्य भूमिकामा थिए । के बालचन्दरको निर्देशनमा बनेको यो फिल्ममा रजनीकान्तको जम्मा १५ मिनेटको रोल थियो । त्यसमा उनलाई कसैले पनि नोटिस गरेनन् । तर तिनै साधारण व्यक्ति एक दिन सुपरस्टार हुन पुगे । रजनीकान्तलाई बालचन्दरले पहिलोपटक एक फिल्म इन्स्टिच्युटमा भेटेका थिए । त्यतिखेर रजनीकान्त विद्यार्थी थिए । बालचन्दरले त्यतिखेर आफ्ना साथीलाई भनेका थिए, ‘यो केटाको आँखामा आगो छ । एक दिन यसले तमिलनाडुमा तूफान ल्याउनेछ ।’
रजनीकान्त छिट्टै नै फिल्म निर्माताहरूमाझ लोकप्रिय भए र सबैले उनको एन्टी हिरो इमेजलाई भजाउन चाहे । तमिल फिल्महरूमा खलनायकको भूमिका निर्वाह गरेपछि रजनीकान्त स्थापित अभिनेताका रूपमा उदाए । तेलुगु फिल्म छिलाकम्मा चेप्पिनडीमा उनले पहिलोचोटि हिरोको रोल पाए । त्यसपछि उनले कहिलेपनि पछि फर्केर हेर्नुपरेन । रजनीकान्तले बलिउड फिल्महरूमा पनि काम गरेका छन् । मेरी अदालत, जोन जानी जनार्दन, हम, अन्धा कानून, चालबाज लगायतका फिल्ममा उनको अभिनय देख्न पाइन्छ । सन् २०१४ मा उनले ६ वटा तमिलनाडु स्टेट फिल्म अवार्ड पाए । त्यसमा चार सर्वश्रेष्ठ अभिनेता र दुई स्पेसल अवार्ड फर बेस्ट एक्टर संलग्न थिए । सन् २००० मा उनलाई पद्मभूषणबाट सम्मानित गरियो । तमिल फिल्मका सुपरस्टार रजनीकान्तले हिन्दी, कन्नड, मलयालम, बंगाली र अंग्रेजी फिल्महरूमा काम गरिसकेका छन् । तर उनले कहिलेपनि मराठी फिल्ममा काम गरेनन् । उनी मूलतः मराठी हुन् ।
रजनीकान्तका प्रिय अभिनेता कमल हासन हुन् । प्रिय अभिनेत्री चाहिँ हेमा मालिनी र रेखा हुन् । शिवाजी’ फिल्म सफल भएपछि रजनीकान्तले आफ्नो फीस ४२ करोड रुपैयाँ राखेका थिए । त्यसपछि उनी ज्याकी च्यानपछिका सबभन्दा महंगा एसियाली स्टार बने । रजनीकान्तले धेरै वर्षदेखि पर्दामा मृत्युको दृश्य दिएका छैनन् । रजनीकान्तलाई फिल्ममा मरेको देखाउँदा फ्लप हुने डर निर्देशकहरूमा छ । रजनीकान्तले बलिउडका धेरै अभिनेतासँग काम गरेको भएपनि राकेश रोशनसँग सबभन्दा बढी काम गरेका छन् । तर राकेशको निर्देशनमा बनेको एउटा पनि फिल्ममा उनले काम गरेका छैनन् ।

Share.

Leave A Reply