१५ मंसिर,सन् २०१७ को ११ महिनामा जिल्लामा १५ हजार ४५० जनाले एचआइभी परीक्षण गराएका छन् ।परिक्षण गराएकामध्ये ८३ जनामा एचाआइभी संक्रमण देखा परेको छ । भरतपुर अस्पतालभित्र रहेको एएचएफ नेपालका वरिष्ठ क्षेत्रीय संयोजक कृष्णहरि सापकोटाका अनुसार सन् २०१७ मा भरतपुर अस्पतालको एआरटी सेन्टरमा १४ हजार ३०० जनाले एचआइभी परीक्षण गराएका हुन् ।समुदायमा गरिएका कार्यक्रममा एक हजार १५० जनाले एचआइभी परीक्षण गराएको उहाँले बताउनुभयो । सन् २०१६ मा जिल्लामा १५ हजार २२८ जनाले एचआइभी परीक्षण गराएका थिए भने ६९ जनामा संक्रमण भेटिएको सापकोटाले बताउनुभयो ।
भरतपुर अस्पतालका एआरटी सेन्टरका डा उन्नत श्रेष्ठका अनुसार एचआइभी भएको शंका लाग्ने बित्तिकै अस्पताल आउनेको संख्या बढेको छ । संक्रमित पनि खुलेर आउन थालेका छन् । अहिले भरतपुर अस्पतालमा एआरटी सेवा लिने संक्रमित ७६४ जना रहेका छन् । सो सेवा लिनेमा पुरुष ३३६, महिला ३६३ र ६५ बालबालिका रहेका छन् । एक सय ३५ जना नयाँ संक्रमितले औषधि सेवन गर्न थालेका छन् । भरतपुर अस्पतालमा सम्पर्कमा रहेकामध्ये पछिल्लो एक वर्षमा ११ पुरुष र छ महिलाको मृत्यु भएको छ ।यसैबीच चितवनमा ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ नाराका साथ ३०औँ विश्व एड्स दिवस सप्ताहव्यापी रुपमा मनाइदै छ । भरतपुर अस्पताल, एएचएफ नेपालको आयोजना र जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरको सहयोगमा विश्व एड्स दिवस सप्ताहव्यापी रुपमा मनाउन लागिएको हो । (रासस)
चितवनमा ८३ जना एचआइभी संक्रमित भएको पुष्टि
0
Share.