७ कार्तिक– काठमाडौं उपत्यका जोड्ने महत्वपूर्ण मानिएको मुग्लिन–नारायणगढ सडकखण्ड विस्तारअन्तर्गत कालोपत्रेको काम शुरु भएको छ ।सडक विस्तार गर्ने काम निकै सुस्त गतिमा भइरहेको अवस्थामा ठेकेदार कम्पनीले सडकखण्डको विभिन्न भागमा कालोपत्रेको काम शुरु गरेका छन् । कुल ३६ किलोमिटर लम्बाइ रहेको नारायणगढ–मुग्लिन सडकको ३३ किलोमिटरमा विस्तारको काम भइरहेको छ ।सो सडकलाई तीन खण्डमा विभाजित गरेर प्रत्येक खण्ड फरक–फरक निर्माण कम्पनीलाई निर्माणको लागि ठेक्का दिइएको छ । पहिलो खण्ड आँपटारीदेखि दासढुंगासम्म छ भने दोस्रो खण्ड दासढुंगादेखि सिमलतालसम्म छ । सिमलतालदेखि मुग्लिनसम्म तेस्रो खण्ड छ । सडकमा तीन तहमा कालोपत्रे हुनुपर्छ । पहिलो तहको कालोपत्रे सबै खण्डमा शुरु गरिएको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालका अनुसार पहिलो खण्डमा सबैभन्दा बढी कालोपत्रे भएको छ । दुई र तीन नम्बर खण्डमा पनि कालोपत्रेको काम शुरु गरिएको उनले बताए ।
खनालका अनुसार पहिलो नम्बर खण्डमा केही ठाउँमा देस्रो तहको कालोपत्रेसहित कुल साढे चार किलोमिटर सडकमा कालोपत्रेको काम सुरू भएको हो । सो खण्डमा साढे ११ किलोमिटर सडक निर्माण गर्नुपर्ने हुन्छ । दोस्रो खण्डमा साढे १० किलोमिटर सडक निर्माण गर्नुपर्छ । त्यहाँ पहिलो तहको कालोपत्रे गर्ने काम लगभग तीन किलोमिटर पूरा भएको छ ।सम्झौताअनुसार उक्त सडकको काम गत वर्ष सन् २०१७ कै अप्रिल महिनामा सकिनुपर्ने थियो । भूकम्प र त्यसपछिको भारतीय नाकाबन्दीले काममा ढिलाइ भएको भन्दै सन् २०१८ को फेब्रुअरी २० (आगामी फागुन ८ गते सम्म)का लागि म्याद थपिएको थियो । सम्झैताअनुसार आगामी फागुनसम्म सबै काम सकिनुपर्ने हो । तर अहिलेसम्म जम्मा ५७ प्रतिशत मात्रै काम सम्पन्न भएको जनाइएको छ ।सबैभन्दा अप्ठेरो मानिएको पहाड काट्ने र पर्खाल लगाउने काम सकिएकाले बाँकी काम समयमै सकिने आयोजनाका इन्जिनियर समेत रहेका सूचना अधिकारी खनालको दावी छ ।