कात्तिक ६ – अखिल नेपाल फुटबल संघ एन्फाले जिल्ला संघहरुलाई कात्तिक २५ गतेदेखि मंसिर २५ गते भित्र अधिवेशन गर्न निर्देशन दिएको छ । एन्फा कम्लेक्समा आज बसेको एन्फाको कार्य समिति बैठकले मंसिर २५ गतेभित्र जिल्ला अधिवेशन गर्न जिल्ला संघहरुलाई भनेको हो । एन्फामा ४५ वटा जिल्ला संघ आवद्ध छन् । जिल्ला संघको अधिवेशनबाट जिल्ला संघको कार्यसमितिका साथै माघमा हुने एन्फाको साधारणसभाका प्रतिनिधि चयन गरिने छ ।
बैठकले माघमा हुने एन्फाको चुनावका लागि निर्वाचन समिति पनि गठन गरेको छ । यो समितिले माघ ११ गते एन्फाको नयाँ कार्य समितिको चुनाव गराउने छ ।
एन्फाको विशेष साधारण सभाले यसअघि नै विधान संशोधन गर्दैै फुटबल क्षेत्रमा लागेको जो सुकै व्यक्ति पनि अध्यक्ष वा कार्य समितिको सदस्यमा उठ्न पाउने व्यवस्था गरेको छ । यस्तै एन्फाले अधिवक्ता मोतिराम गौतमको संयोजकत्वमा निर्वाचन पुनरावेदन समिति पनि गठन गरेको छ । यो समितिलाई एन्फाको चुनावका क्रममा कुनै विवाद भएमा त्यसलाई मिलाउने जिम्मेवारी छ ।
यस्तै बैठकले थ्री स्टार क्लवलाई एएफसी क्लव च्यापिम्यनसिपमा सहभागी गराउन पहल गर्ने निर्णय पनि गरेको छ । एन्फाको लापरवाहीका कारण थ्री स्टार क्लवले एएफसी क्लव च्यापिम्यनसिप खेल्न पाएको थिएन । यो वर्ष कुनै लिग नभएका कारण पुरानो विजेताको हैसियतले थ्री स्टारलाई आउँदो एएफसी क्लव च्यापिम्यनसिपमा सहभागी गराउने निर्णय एन्फाले गरेको हो ।
एन्फा जिल्ला संघको चुनाव मंसिर २५ गतेसम्म गरिसक्न एन्फाको निर्देशन
0
Share.