play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

चिकित्सा शिक्षा अध्यादेश अनुमोदनः अब दस वर्ष काठमाडौंमा मेडिकल कलेज खुल्न नपाउने

0

सरकारले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश अनुमोदन गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले डा गोविन्द केसीको माग अनुसार तयार पारिएको ‘राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ अनुमोदन गरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा तयार भएको उक्त अध्यादेश सरकारी वार्ता टोली, पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा र डा केसीका तर्फबाट प्रतिनिधि बनेका डा अभिषेक सिंहको टोलीले अध्यादेशको मस्यौदा तयार पारेको थियो।

तर, अध्यादेश राष्ट्रपति समक्ष पेश कहिले गर्ने विषयमा भने निर्णय हुन नसकेको सरकारका प्रवक्ता सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए। ‘अध्यादेश पास गर्ने विषयमा सबैको सहमति भयो,’ उनले भने, ‘तर राष्ट्रपतिकहाँ पठाउने विषयमा भने निर्णय हुन सकेन ।’ राष्ट्रपतिबाट स्वीकृत भएपछि अध्यादेशले कानुनका रुपमा आउनेछ।

डा केसीले आज मन्त्रिपरिषद्ले अध्यादेश अनुमोदन नगरे अनशन बस्ने चेतावनी दिएका थिए। सरकारसँग सहमति भएपछि डा केसीले बुधबार १३औं अनशन तोडेका थिए।

डा केसीका माग अनुसार संसदबाट चिकित्सा शिक्षा विधेयक पारित नभएपछि सरकारले अध्यादेश ल्याउन सहमति गरेको थियो। एमाले र माओवादी सांसदले आफू निकटका मेडिकल कलेजलाई सम्बन्धन दिलाउन विधेयकमा चलखेल गरेपछि डा केसी अनशन बसेका थिए।

केसी अनशनमा रहेको समयमा एमाले र माओवादीले संसदबाट कुनै पनि हालतमा विधेयक पारित हुन नदिने अडान राखेका कारण संसदको अन्तिम बैठकबाट विधेयक पारित हुने सम्भावना टरेको थियो। संसद बैठक सकिए पनि केसीले अनशन नछाडेपछि सरकारले अध्यादेश ल्याउने सहमति गरेको थियो।

Share.

Leave A Reply