आज बसेको मन्त्रिपरिषद् बैठकले मुख्य सचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले भोलि ७ गते अवकाश पाउँदैछन्। उनको अवकाशको अघिल्लो दिन नै सरकारले रेग्मीलाई मुख्यसचिव नियुक्तिको निर्णय गरेको हो।
सरकारी सेवामा रहेका ५० सचिवमध्ये वरिष्ठताका आधारमा तीन जना मुख्यसचिवको दौडमा थिए। ज्येष्ठता र कार्यसम्पादनका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शंकरप्रसाद अधिकारी, गृहसचिव रेग्मी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै सचिव ङइन्द्रप्रसाद उपाध्याय मुख्यसचिवको लाइनमा देखिएका थिए।
रेग्मी प्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा निकट मानिन्छन्।
यसै गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द पोखरेलको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले सो पदमा युवराज भुसाललाई नियुक्त गरेको छ।
प्युठानबाट प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेसबाट नाम सिफारिस भएपछि कार्यवाहक सिइओ पोखरेलले राजीनामा दिएका थिए। भुसाल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन्। उनी यसअघि पनि पटकपटक सरकारी लाभको पदमा पुगेका थिए। पौडेलको सम्धी भएकै कारण अर्थ सचिवबाट अवकाश पाएको २०७१ साल साउन ९ गते प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा नियुक्ति पाएका थिए। अर्थ मन्त्रालयमा सचिव समेत भएका भुसालले राजनीतिक नियुक्ति पाएको दोस्रो पटक हो।