play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

नेपाल र भारतमा एउटै प्रविधिबाट एकैपटक बाघ गणनाको तयारी

0

असोज १६ । बाघ रहेका नेपालका निकुञ्ज, आरक्ष, वन क्षेत्र र तीसँग जोडिएका भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गरिने भएको छ ।निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार नोभेम्बर दोस्रो साताबाट बाघ गणना गर्ने तयारी भएको छ ।नेपाल र भारतका अधिकारीबीच हालै सम्पन्न बैठकमा दुवै देशमा बाघको गणना एउटै विधि प्रयोग गरी नदोहोरिने गरी गणना गर्ने निर्णय भएको हो ।खड्काका अनुसार बाघले आफ्नै क्षेत्र निर्धारण गरेर बस्ने गर्छ । कतिपय बाघ नेपाल र भारतका वन क्षेत्रमा मात्रै रहने भए पनि कतिपयले सीमा क्षेत्रमा दुवै देशको वन क्षेत्रलाई आफ्नो क्षेत्र बनाई बसेकाले दुवै देशमा एकैसाथ गणना गर्दा बाघको संख्या नदोहोरिने खड्काले बताए ।यसअघि पनि दुवै देशमा एकैसाथ बाघको गणना गरिएको थियो तर प्रविधि पनि एउटै प्रयोग गर्न लागिएको यो पहिलो पटक हो ।
नेपालमा सन् २०१३ मा बाघको गणना भएको थियो । त्यो बेला देशभर बाघको संख्या १९८ पुगेकामा चितवन निकुञ्जमा मात्र सबैभन्दा धेरै १२० बाघ थिए ।चितवन निकुञ्जबाहेक पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा निकुञ्जमा बाघ पाइन्छ । पाटे बाघ विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो ।सन् २०१० मा बाघ पाइने विश्वका विभिन्न देशका सरकारी अधिकारीको रुसमा सम्पन्न बैठकले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पुर्‍याउने निर्णय गरेको थियो ।जसअनुसार सन् २०२२ मा नेपालमा बाघको संख्या २५० पुग्नु पर्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।पाटे बाघ नेपालसहित संसारका १४ देशमा पाइन्छ । नेपाल, भारत, चीन, बंगलादेश, भुटान, बर्मा कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, उत्तर कोरिया, रुस, थाइल्याण्ड र भियतनाममा हाल लगभग तीन हजार ९०० बाघ रहेको तथ्यांक छ ।पछिल्लो समय चोरीशिकारीमा भएको कमी, आहारा प्रजातिका वन्यजन्तुको संख्यामा भएको वृद्धि, वासस्थानमा व्यवस्थापनमा भएको सुधारका कारण बाघको संख्या बढ्दै गएको अनुमान गरिएको छ ।पर्यटक, गस्तीमा जाने सुरक्षाकर्मी, अनुगमनमा जाने निकुञ्ज कर्मचारीको भनाइका आधारमा संख्या बढेको अनुमान गरिएको कँडेलले बताए ।

Share.

Leave A Reply