१५ असोज, नेकपा एमालेले आगामी चुनावमा वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको छ । एमालेले सत्तारुढ माओवादीसँगको तालमेलको प्रयासलाई प्राथमिकतामा राखेको छ ।चुनावको रणनीति र उम्मेदवारबारे छलफल गर्न आइतबार बिहान पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको बैठक बसेको थियो ।
माओवादी सत्तारुढ दल भएकाले उसँग तालमेल गर्ने कुरा छलफलको क्रममा रहेको तर, निर्णय नभइसकेको एमाले प्रचार बिभाग उपप्रमुख सूर्य थापाले बताए । एमालेले चुनावी तालमेल कसरी गर्ने भन्ने अन्तिम निर्णयको जिम्मा भने स्थानीय पार्टी कमिटीलाई नै दिएको छ ।प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा गर्ने सरकारले निर्णय गरेको छ । सो चुनावका लागि उम्मेदवार छनोट र घोषणा पत्र निर्माण लगायतका बिषयलाई पनि अघि बढाउने एमालेले जनाएको छ ।
प्रदेश कमिटीको बैठकले आगामी असोज २२ र २३ गते उम्मेदवारहरुको सिफारिस स्थायी कमिटी बैठकमा प्रस्तुत गर्नुपर्नेछ । प्रत्येक जिल्ला कमिटीबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक महिलासहित तीन जनाको नाम समानुपातिक उम्मेदवारका लागि पनि स्थायी समितिमा पठाउनुपर्ने विधि एमालेले बनाएको छ ।तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा २९४ स्थान जितेर एमाले पहिलो पार्टी बनेको छ ।
माओवादीसहित सबै वामपन्थीसँग तालमेल गर्ने एमालेको निर्णय
0
Share.