रक्सीको नसामा गाडी चलाएको आरोपमा इंग्लिस फुटबल स्टार वायने रुनीलाई २ वर्ष कुनै पनि सवारी साधन चलाउन नपाउने गरी प्रतिबन्ध लगाइएको छ। इंग्ल्यान्डको स्टोकपोर्ट जिल्ला अदालतले रुनीमाथि खराब आचरण देखाएको आरोपमा उनलाई गाडी चलाउन प्रतिबन्ध लगाउने फैसला सुनाएको हो।
१३ वर्षपछि आफ्नो सानोको टिम इभर्टनमा फर्किएका इंग्ल्यान्डका पूर्व कप्तान रुनी १ सेप्टेम्बरमा अत्याधिक मदिरा सेवन गर्दै गाडी हकाएको अवस्थामा चेसायरको विल्मस्लोमा पक्राउ परेका थिए।
उनले मदिरा सेवन गरेर गाडी हकाउँदा अगाडिको सिटमा कुनै एक महिला पनि भएको बताइएको छ। ३१ वर्षीय रुनीलाई एक वर्षभित्र निःशुल्क सय घण्टा सामुदायिक काम गर्न पनि अदालतले आदेश दिएको छ। उनलाई दण्डवापत १ सय ७० पाउन्डको आर्थिक सजाय पनि सुनाइएको थियो।
रुनीले ३ पल्ट ट्राफिक नियम उल्लङ्घन गरेको आधारमा अदालतले यो निर्णय सुनाएको हो। उनी पक्राउ पर्दा नियम विपरित ३ गुणा ज्यादा नसा गरेको पाइएको थियो।