भदौं २६ – तेस्रो चरणको स्थानीय तह निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलका नेता तथा उम्मेदवारलाई मतदाता तान्न भ्याइनभ्याइ छ । प्रमुख दलले आफ्ना शीर्ष नेता नै प्रदेश २ केन्द्रित चुनावी सभा तथा प्रचारप्रसार तीव्र बनाएका छन् ।असोज २ गते हुने निर्वाचनलाई प्रमुख दल र मधेसवादी दलले पहिलो हुन प्रतिष्ठाको लडाइँका रूपमा अघि सारेका हुन् । संविधानसभाको पहिलो दल नेपाली कांग्रेस प्रदेश २ मा राम्रो नतिजा ल्याएर एमालेलाई उछिन्ने दाउमा छ ।यस्तैः दुई चरणको निर्वाचनमा २ सय ७६ वटा स्थानीय तहमा जित हासिल गरेर पहिलो दल बनेको नेकपा एमालेले प्रदेश २ मा पनि पहिलो दल बन्ने होडमा छ ।यता, पहिलो र दोस्रो चरणमा ८५ स्थानीय तहमा मात्रै जितेको नेकपा माओवादी केन्द्रले प्रदेश २ मा पहिलो दल बन्ने योजना राखेर पार्टी प्रवेश, चुनावी सभा, प्रचाररलाई तीव्र बनाएको छ । माओवादी केन्द्रले सिंगो सचिवालय टिम नै प्रदेश दुईमा केन्द्रित गरेको छ ।अघिल्ला दुई निर्वाचनमा आठ स्थान जितेको संघीय समाजवादी फोरम नेपाल तथा विभिन्न ६ दल एकता गरेर बनेको राष्ट्रिय जनता पार्टीसमेत प्रदेश २ मा पहिलो दल बन्ने दौडमा छ । प्रमुख दलले शीर्ष नेताहरूलाई समेत चुनाव प्रचारप्रसारमा प्रदेश २ मा खटाएका छन् ।सबै दलले चुनावी सभा, प्रचारप्रसार, घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । आउदो असोज २ गते प्रदेश नम्बर दुई अन्तरगतका एक महानगर ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकामा मतदान हुँदैछ ।
दलका नेता तथा उम्मेदवारलाई मतदाता तान्न भ्याइनभ्याइ
0
Share.